• १२ असोज २०८१, शनिबार

माटे र ठुलीबेँसीमा बाढीले क्षति

blog

शेरबहादुर राई

ओखलढुङ्गा, साउन २१ गते । केही दिनअघि परेको अविरल वर्षाका कारण मानेभञ्ज्याङ गाउँपालिकाको ठुलीबेँसी र माटेबेँसीमा क्षति पुर्‍याएको छ । वर्षासँगै आएको खहरे बाढीले मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरको ठुलीबेँसी र माटेबेँसीमा क्षति पुर्‍याएको हो । 

मानेभञ्ज्याङदेखि सुनकोशी गाउँपालिका–३ सिस्नेरी हुँदै बल्खु जाने सडक खन्ने क्रममा निस्किएको खहरे माटो वर्षाले बगाउँदा तल्लो क्षेत्रमा रहेको बस्ती र खेतमा क्षति गरेको स्थानीय अर्जुन गौतमले बताउनुभयो । खहरेसँगै माथि पाखाबाट आएको बाढीले ठुलीबेँसीको लीलानाथ गौतम र भोजराज जम्मकट्टेलको घरमा क्षति गरेको गौतमले जानकारी दिनुभयो । 

अन्य १४ घर जोखिममा रहेको गौतमले बताउनुभयो । केही धान खेत पनि पुरिएको छ । यसका साथै सोही ठाउँको माटेबेँसीको धान खेत पनि सडकका कारण माथि पाखाबाट आएको खहरे बाढीले पुरिएको गौतमले जानकारी दिनुभयो । चार भागमा करिब तीन भाग धान खेतमा क्षति पुगेको उहाँको भनाइ छ । माटेबेँसीकै माथिल्लो क्षेत्र खहरे बाढीले पुरिएको र तल्लो क्षेत्र मोलुङ खोलाले कटान गरेको स्थानीयले बताएका छन् । 

यसका साथै सुनकोशी गाउँपालिका–६ भुल्केटार जोड्ने झोलुङ्गे पुलमा समेत खहरेले बाढी क्षति गरेको छ । ठुलीबेँसीका बासिन्दा छ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। वर्षाका कारण आएको बाढीले बिजुलीको पोल ढलेपछि यहाँ विद्युत पनि अवरुद्ध भएको हो । 

यस विषयमा सम्बन्धित निकायले चासो नदिएको गौतमको गुनासो छ । वर्षाका कारण भएको क्षति भएको स्थानमा अनुगमन गर्नुका साथै क्षतिको मूल्याङ्कन गरी आवश्यक सहयोग उपलब्ध गराइने गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो । आवश्यक थप सहयोगका लागि सम्बन्धित निकायहरूमा पहल भइरहेको गाउँपालिका अध्यक्ष रुम्दालीको भनाइ छ । 

सुनकोशी गाउँपालिका–६ भुल्केबेँसीमा वर्षाका कारण बाढीसँगै आएको खहरेले पुरिएको क्षेत्रको गाउँपालिका अध्यक्ष कमल तामाङले अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष तामाङले क्षति पुगेको धान खेत पुनः निर्माण गर्ने बताउनुभएको छ । बर्खा सकिएपछि गाउँपालिका साथै सम्बन्धित माथिल्लो निकायमा पहल गरेर धान खेत पहिलेकै जस्तो बनाउने स्थानीयहरूसँग अध्यक्ष तामाङले प्रतिबद्धता गर्नुभएको छ । 

मानेभञ्ज्याङ गाउँपालिकाको ठुलीबेँसी र माटेबेँसी साथै सुनकोशी गाउँपालिकाको भुल्केबेँसीमा विकासका कारण निम्तिएको विनाश हुन् । माथि पाखामा सडक खनेकै कारण आएको बाढीले तल्लो क्षेत्रको मानव बस्ती र उब्जाउ भूमिमा क्षति पुगेको स्थानीयले बताएका छन् । 


यो पनि पढ्नुहोस

भुल्के बेँसीमा विकासले निम्त्याएको विनाश