• १२ असोज २०८१, शनिबार

९५० घरमा खानेपानीको धारा

blog

आफ्नै घर छेउ निर्माण गरिएको धाराकाे पानी प्रयोग गर्दै ।

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन २१ गते । हिमाली जिल्ला म्याग्दीको पश्चिम क्षेत्रका तीन वटा स्थानीय तहमा उपभोक्ताको सहभागितामै नौ सय ५० घरमा स्वच्छ पिउने पानीको धारा जडान गरिएको छ ।

नेपाल स्वास्थ्यको लागि पानी(नेवा) प्रदेश कार्यालय बागलुङमार्फत म्याग्दी जिल्लाका मंगला गाउँपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिका गरी कुल नौ सय ५० घरमा एकएक धारा तथा सामाजिक सङ्घसंस्थामा गरी नौ सय ६९ धारा जडान भएको हो । उक्त परिमाणमा जडान भएका धाराबाट कुल सात हजार सात सय ६२ जनसङ्ख्या लाभान्वित हुने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । ग्रामीण वस्तीमा स्वच्छ खानेपानी पुर्‍य ाउने लक्ष्यसहित सञ्चालित उक्त संस्थाले स्थानीयतह, उपभोक्ता तथा जनश्रम र आफ्नो तर्फबाट  त्रिपक्षीय सहभागितामा खानेपानी आयोजना सञ्चालन गर्दै आएको छ । 

म्याग्दीमा सञ्चालित खानेपानी आयोजनाका लागि उपभोक्ताहरुले एक करोड ४८ लाख ६६ हजार चार सय ४० रुपियाँ बराबरको जनश्रमदान गरेका छन् । त्यस्तै दुई करोड ८९ लाख ७० हजार नौ सय ५१ रुपियाँ नेवाको तर्फबाट सहयोग आएको छ । एक करोड २५ लाख ९३ हजार २३ रुपियाँ स्थानीयतहको आर्थिक सहभागिता रहेको र २७ लाख १५ हजार चार सय १५ रुपियाँ उपभोक्ताहरुले नगद समेत लगानी गरेका छन् । तीन वटा स्थानीय तहमा निर्माण सम्पनन भएका १२ वटा खानेपानी आयोजनाका लागि कुल ५ करोड ९१ लाख ४५ हजार आठ सय २९ रुपियाँ खर्च भएको कोइरालाले जानकारी दिनुभयो । उपभोक्ताको आर्थिक र जनश्रम पनि पर्दा आयोजनाको दिगो पन र सुरक्षीत पनि रहने हुँदा यो विधि निकै फलदायी हुने उहाँको भनाइ छ ।

पहिलो पाँच सात घरले एकै धारा प्रयोग गर्ने तथा कतिपयले पानी सङ्कलनका लागि टाढा पुग्नुपर्ने अवस्था थियो अहिले खानेपानी आयोजना सम्पन्न भए पछि सबैको घरमा धारा छ–मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले बताउनुभयो । रुमको ठूलो रुम खानेपानी तथा सरसफाइ आयोजनाबाट दुई सय ७२ धारा, कलात भनारी खानेपानी तथा सरसफाइ आयोजनाबाट ७४ धारा र  बिलबाङ खानेपानी तथा सरसफाइ आयोजनाबाट ६५ धाराबाट स्वच्छ खानेपानी पिउन थालेका छन् । हाल रुम क्षेत्रका चार सय ८ घरका दुई हजार पाँच सय ६३ जनसङ्ख्याले खानेपानीको समस्याबाट छुटकारा पाएका छन् ।

नेवा मार्फत धवलागिरी गाउँपालिकाको लमसुङ र खाम्लामा एक सय ८ धारा जडान भएका छन् । त्यस्तै मालिका गाउँपालिकाको ठूलो रुम, कलात भनारी, बिलबाङ, बिम, बिम डाँडागाउँ, दास सिरेदी खोप्टी र जनप्रिय माध्यमिक विद्यालयमा गरी छ सय ४३ खानेपानीको धारा जडान गरिएको छ । त्यस्तै मङ्गला गाउँपालिकाको खानीगाउँ डिम्रेनी, र्‍य ालेखोर खुम्लिया र हिदीमा खानेपानी आयोजनामार्फत दुई सय दुई जना सर्वसाधारणको घर जडान भएको धाराबाट स्वच्छ पिउने पानी पुर्‍य ाउने काम भएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, "स्थानीयकै सहभागितामा नेवाले स्वच्छ पिउने पानीको व्यवस्थापन गरेका छ ।"