मनाङ समाचारदाता
मनाङ, साउन २१ गते । मनाङ क्षेत्रको भ्रमणमा आएका पाँच जना पर्यटकले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा पाँच जनाले ज्यान गुमाएका हुन । विपत्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार हजार ९१६ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पदमार्ग र थोराङ्ला भन्ज्याङ पार गर्ने अन्नपूर्ण पदमार्गको अनुगमन गरिएको थियो ।
जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्व पर्यटकको आकर्षणको केन्द्र भए पनि जोखिम मानिएको छ । अधिकांश पर्यटकले लेक लागेर ज्यान गुमाउनु परेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
२०८० असोज १७ मा डुम्रे–बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत नासोँ गाउँपालिका–३, खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसले ज्यान गुमाएका छन् । असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदलमार्ग अन्तर्गत ङिस्याङ गाउँपालिका–९, टोडाँडामा लेक लागेर ३५ वर्षीय चेत्तिय क्यान्डी भन्ने भारतीय नागरिक मोहमद रिजिमले ज्यान गुमाएका छन् ।
त्यस्तै नार्पाभूमि गाउँपालिका–२, मेतास्थित जम्बाला गेस्ट हाउस एन्ड रेस्टुरेन्टमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृत भेटिएका थिए । ङिस्याङ–६, चुलुबेस क्याम्पनजिकै बाटोमा लेक लागेर धादिङ गङ्गाजमुना गाउँपालिका–५, फूलखर्कका ३५ वर्षीय भरिया हरि अधिकारी र मनाङ ङिस्याङ–९, टोगुफास्थित पहिरो जोखिम क्षेत्र तिलिचो बेसक्याम्प जाने क्रममा दाङ घोराही उपमहानगरपालिका–९ स्थायी घर भई काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ४९ वर्षीय दधिराम डाँगीले ज्यान गुमाएका छन् ।
पदमार्गमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल नगरी मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गरी बिनापथप्रदर्शक यात्रा गर्दा बढी दुर्घटना हुने गरेको बताइन्छ । “मौसमको अनुकूलताको ध्यान नदिएकाले पर्यटकले ज्यान गुमाउने गर्दछन् भने लेक लाग्ने क्षेत्र भएकाले हाई अल्टिट्युटका कारण ज्यान गुमाउने गरेका छन्,” प्रमुख भुजेलले भन्नुभयो ।
मनाङका पर्यटकीय क्षेत्र तिलिचो ताल, थोराङ्ला भन्ज्याङ पार गर्न आउने पर्यटकले यहाँको मौसमको अनभिज्ञताले ज्यान गुमाउनु परेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने समस्यालाई ध्यान दिएमा स्वदेशी पर्यटकले ज्यान गुमाउने अवस्था नआउने बताइन्छ । थोरै समय लिएर यहाँ घुम्न आउने स्वदेशी पर्यटक उच्च जोखिममा पर्ने गरेका स्थानीयको भनाइ छ ।
विपत् जोखिम कम गर्न पालिकास्तरमा विपत् सहायता कक्ष, स्थानीय प्रतिकार टोली, रेडक्रसलगायतका सुरक्षा टोलीलाई तयारी अवस्थामा राखिने गरिएको छ । बढी जोखिमयुक्त चामे र नासोँ गाउँपालिकामा सहायता कक्ष स्थापना र विपत् सचेतनाका कार्यक्रम भइरहेको हुन्छ ।