मानिस शारीरिक, मानसिक, सामाजिक साथै आध्यामिक रूपमा स्वस्थ हुनु नै निरोगिता हो । मानसिक स्वास्थ्य मानव जीवनलाई ऊर्जाशील बनाई गतिशील मार्गमा हिँडाउने महत्वपूर्ण पक्ष हो । जीवनलाई मनोवैज्ञानिक संवेगात्मक तथा सामाजिक रूपमा तन्दुरुस्त राख्नु पनि हो । विश्व स्वास्थ्य सङ्गठनले मानसिक समस्यालाई साधारण तथा दैनिक रूपमा आइपर्ने तनाव व्यवस्थापन गर्न कठिनाइ भई दैनिक, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्थालाई उल्लेख गर्छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार संसारभर हरेक चार जनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या हुन्छ । यस तथ्याङ्कलाई आधार मान्दा विश्वको जनसङ्ख्याको २५ प्रतिशत मानिस कुनै न कुनै किसिमको मानसिक समस्याबाट ग्रसित हुन्छन् । नेपालको मानसिक स्वास्थ्य समस्या कुल
जनसङ्ख्याको ३० प्रतिशत रहेको अनुमान लगाउन सकिन्छ । प्रत्येक १० जनामध्ये ९ जना मानसिक समस्या भएका व्यक्ति लैङ्गिक हिंसा तथा आक्रमणको जोखिममा हुन्छन् ।
मानसिक स्वास्थ्य अवस्था राम्रो भएमा मन, शरीर र समाजबिचको अन्तर सम्बन्धलाई स्वस्थ र प्रभावकारी बनाउन मद्दत पु¥याउँछ । मनोसामाजिक अवस्था राम्रो हुनका लागि मन, शरीर र समाजबिचको सम्बन्धमा सुमधुर र स्वस्थ हुनु पर्छ । यी तीन पक्षबिच सुमधुर सम्बन्ध भएन भने मन खिन्न हुने, दुःखी हुने, आफूलाई अरूले घृणा गरेको, होच्याएको, अपमान, माया र सम्मान नगरिएको, विभेद गरेको महसुस हुने गर्छ । मानसिक समस्यालाई समयमै निराकरण गर्न नसकेमा धेरै समस्या निम्त्याउँछ । मानसिक स्वास्थ्य समस्याले शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । जिउ गल्दै जानुका साथै आलस्यता ल्याउने, वाक्वाकी लाग्नुका साथै पाचन प्रक्रियामा समस्या सिर्जना गर्छ । तनावको अवस्था रहिरहँदा उच्च रक्तचाप, मधुमेहलगायतका रोगसमेत देखा पर्न थाल्छ । बौद्धिक क्षमतामा ह्रास ल्याउने हुँदा सम्झन सक्ने, सोच्ने, क्षमतामा समस्या ल्याउँछ । नकारात्मक संवेग अभिवृद्धि भई मस्तिष्कलाई व्यवस्थापन गर्न कठिनाइ हुन्छ । पछिल्लो समय मानसिक स्वास्थ्य समस्याले विकराल रूप लिँदै गएको छ, कार्यालय, विद्यालय, समाजदेखि घर परिवारमा किन नहोस् । मानसिक समस्याकै कारण आत्महत्याका घटना पनि प्रतिदिन बढ्दै गएका छन् ।
मानिस यान्त्रिक बन्दै छ । प्रविधिको प्रयोगले दया, माया सद्भाव, करुणा जस्ता गतिविधि बिस्तारै हराउँदै जान थाल्यो । मानिस प्रविधिमै रमाएर मेसिन जस्तो बन्न पुगेको छ । ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेरअगावै सुरु हुन्छ । प्रत्येक पाँच जनामध्ये एक बालबालिका तथा किशोर किशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको तथ्याङ्क छ । त्यसैले प्रारम्भिक बाल्यावस्थामा पाएको अनुभव, हुर्काइ, पोषण, उत्प्रेरणा, सिकाइ, अन्तर्क्रियाको अवसर, नकारात्मक व्यवहारको कारणले आफू अभिभावक हुँदा पनि मानसिक स्वास्थ्यमा प्रभाव पर्छ । मानसिक स्वास्थ्यमा समस्या भएका अभिभावकले बालबालिका हुर्काउँदा उनीहरूले बालबालिकालाई बेवास्ता, गाली, पिटाइ, दुव्र्यवहारयुक्त व्यवहार गर्नाले पनि धेरै असर पार्छ ।
घरेलु हिंसा, लैङ्गिक तथा यौन हिंसा, लागुपदार्थ तथा मादक पदार्थ सेवन, झैझगडा तथा व्यावहारिक समस्याको कारणले बालबालिकासहित परिवारका सदस्यको मानसिक स्वास्थ्यलाई असर गर्छ । गरिबीका कारण आधारभूत मानव अधिकारसमेत प्राप्त गर्न कठिन हुने हुँदा परिवारमा तनावपूर्ण असन्तुलित वातावरण सिर्जना भई मानसिक स्वास्थ्यलाई असर गर्छ । कार्यालयमा तनावपूर्ण काम गर्ने कार्यक्षेत्र, कामको बोझ, सही स्थानमा सही पदस्थापन नहुने, कार्यको उचित मूल्याङ्कन नहुने, अवसरमा न्योचित नहुँदा तनावयुक्त वातावरण ल्याई मानसिक समस्या सिर्जना गर्न टेवा दिन्छ ।
विरक्त तथा दिक्दारी लाग्ने, नैरास्यता र कुण्ठा बढ्दै जान्छ । धेरै रिसाउनु वा अरूप्रति नकारात्मक सोच राख्छ । अरूलाई कुटपिट गर्छ । दैनिक कार्य सम्पादन गर्न सक्दैन । निद्रा नलाग्नु, छटपटी हुनु, निद्रामा गडबडी हुनुलगायतका विविध समस्या उत्पन्न गर्छ । फलस्वरूप मर्ने सोच आइरहन्छ । मर्ने प्रयास गरिरहन्छ । चिटचिट पसिना आउनु, एकदमै डर लाग्नु । एक्लै हुन मन पर्ने, एकोहोरो हुने, एकदमै गल्ती गरेको महसुस गर्नु, जस्ता असरले कतिपयले अकालमा ज्यानैसमेत फालेका थुप्रै घटना, परिघटना समाचार माध्यममा आउने गरेका छन् ।
मनोसामाजिक समस्या बेलैमा सम्मोधन हुन नसकी बढ्दै गएमा गम्भीर मानसिक समस्या सिर्जना गर्छ । मानसिक समस्या सिर्जना गर्ने प्रमुख कारक तत्वमा केही वंशाणुगत रूपमा पनि रहेको पाइन्छ । कतै सामाजिक अवरोेधका रूपमा रहेको गलत अभ्यास, कतिपय जैविक कारण मस्तिष्कमा हुने गडबडीलाई लिने गरिन्छ । मानसिक स्वास्थ्य स्वस्थ हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा तन्दुरुस्ती हुनु पर्छ । कतिपय सानातिना शारीरिक रोग त मानसिक स्वस्थता र आत्मबलका कारणले आफैँ निको हुन सक्छ ।
मानसिक स्वास्थ्य समस्या हुन नदिनका लागि सर्वप्रथम पूर्वसावधानीमा ध्यान दिनु पर्छ । स्वस्थ बालबालिका जन्माउन मानसिक तथा शारीरिक रूपमा तयार भएर मात्र जन्माउने योजना बनाउनु पर्छ । जस्तो बालविवाह हुने, उमेर नपुगी गर्भवती हुने, गर्भवती अवस्थामा राम्रो र पोषणयुक्त खाना नखानु, उचित स्याहारसुसार नपाउने जस्ता कारणले पनि समस्या सिर्जना गर्छ । अर्कोतर्फ अभिभावकले आफ्ना बालबालिकालाई बेलाबेलामा समय दिने, विशेष ख्याल गर्ने, सन्चो, बिसन्चो, खाना खाएको नखाएको, विविध विषयको रेखदेख गर्ने, उनीहरूलाई सबैभन्दा धेरै महत्व दिने, माया देखाउने गर्नु पर्छ । बालबालिकालाई पनि बिस्तारै आफूले गर्न सक्ने कुराको समस्या समाधान गर्न सिकाउँदै जानु पर्छ ।
बालबालिकाको कुरा सधैँ प्राथमिकता दिएर सुन्ने, विभिन्न हाउभाउ जस्तै, मुस्कुराएर, बालापनको हाउभाउ भाव व्यक्त गरेर, बालबालिकाको भाव अनुरूप कुराकानी गर्ने गर्नु पर्छ ।
कार्यालयमा स्वस्थ, स्वतःस्र्फूत, उत्प्रेरित, उच्च मनोबलयुक्त काम गर्ने कार्य क्षेत्र तथा कार्य वातावरण, सही स्थानमा सही कर्मचारीको पदस्थापन गर्ने, कार्यको उचित मूल्याङ्कन हुने, अवसरमा न्यायोचित वितरण, सिक्ने, सिकाउने कार्यसंस्कृति हुनु त्यत्तिकै जरुरी छ ।
मानसिक समस्या उत्पन्न हुन नदिन आफ्नो बारेमा अरूसँग खुलेर कुरा गर्ने, राम्रोसँग सुत्ने, स्वस्थ खानपिन दैनिक शारीरिक कसरत गर्ने, सकारात्मक काममा व्यस्त हुने, अनावश्यक चिन्ता, तनाव नलिने, राम्रो साथीहरूसँग मात्र सङ्गत गर्ने, मादकपदार्थ र लागु औषधको सेवन नगर्ने, नियमित रूपमा स्वास्थ्य परीक्षण गर्ने, मानसिक रोग भएका बिरामीले पनि अरू रोग जस्तै : मधुमेह, उच्च रक्तचापको औषधी लगातार सेवन गर्ने र घरमा राख्न नसक्ने अवस्थामा मानसिक पुनस्र्थापना केन्द्रमा भर्ना गरेर पूरा उपचार गराउने गर्नु पर्छ ।
मानसिक स्वास्थ्य समस्या ठुलो समस्या होइन । बेलैमा औषधी उपचार भएमा यो निको हुन्छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले अन्य व्यक्तिसरह काम गर्न सक्छन्, गरिरहेका पनि छन् । कडा खालका मानसिक स्वास्थ्य समस्यामा मनोचिकित्सकीय र मनोवैज्ञानिक उपचारपश्चात् व्यक्तिले सामान्य र स्वतन्त्र जीवन जिउन सक्छन् भन्ने कैयाैँ उदाहरण रहेका छन् ।
यसरी मानसिक स्वास्थ्य समस्या हुन नदिनका सरकारले बेलैमा ध्यान दिनु जरुरी छ । आवश्यकता पहिचान गरी सरकारको नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा जोड दिएर अगाडि बढ्नु पर्छ । मानसिक स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति २०५३, राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७, जनस्वास्थ्य सेवा ऐन २०७५, को उचित परिपालनामा जोड दिनु जरुरी छ । साथै समयसापेक्ष निरोधात्मक, उपचारात्मक र प्रवर्धनात्मक नीति, योजना, कार्यक्रममा जोड दिई मानसिक स्वास्थ्य समस्यालाई बेलैमा न्यूनीकरण गर्न आवश्यक छ । मानसिक रूपमा स्वस्थ्य ऊर्जाशील व्यक्तिले घर, परिवार, समाज र राज्यलाई सबल, सक्षम र सुदृढ बनाउन सक्छ ।