हाम्रो देश नेपालबाट काम वा अध्ययनका नाममा देश छाड्ने युवाको सङ्ख्या अस्तिभन्दा हिजो र हिजोभन्दा आज बढिरहेको छ । भोलिचाहिँ रोकिएला त, यसमा ढुक्क बनेर टाउको हल्लाउन सकिने अवस्था पनि छैन । हुन त काम वा अध्ययनका लागि मन लागेको ठाउँमा जान पाउनु हामी सबैको अधिकार हो । यसो भन्दै गएमा भोलि देशको अवस्था कस्तो बन्ला ?
युवा भनेका देशका अमूल्य गहना र शक्ति दुवै हुन् । उनीहरूलाई सक्षम र सबल बनाउनु राज्यको मूल कर्तव्य नै हो । आफ्नो कर्तव्य निर्वाहका लागि राज्य सधैँ संवेदनशील बन्नु अति आवश्यक छ । अझ त्यतिले मात्र पनि पुग्दैन, अझ अगाडि बढ्नु नितान्त आवश्यक छ । यदि युवा देशभित्र बसेर कामधन्दा गर्न चाहँदैनन् वा उनीहरूका चाहना विदेश जाने देखिए, ढिलो चाँडो त्यो देश सङ्कटको महापोखरीमा पर्ने सम्भावना बढीभन्दा बढी रहन्छ । मुलुकको भोलिको भविष्य सोच्ने राष्ट्र आजैदेखि युवाप्रति संवेदनशील रहँदै उनीहरूका पक्षमा काम गरिरहेका हुन्छन् । युवा जनशक्ति देशभित्र रहे मात्र त्यो देशले चाहे अनुसारको प्रगति र उन्नति गर्न सक्छ भन्ने कुरामा कुनै दुविधा छैन ।
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल हुनुमा युवा जनशक्तिको महत्वपूर्ण योगदान रहेको कुरामा कुनै शङ्का छैन । खासै कुनै महत्वपूर्ण स्रोतसाधन नभएको सानो राष्ट्र गोरखाले आफूभन्दा शक्तिशाली राष्ट्रहरूलाई एकीकृत गरेर आफूमा मिलाउन सफल हुनुमा युवा जनशक्तिकै महत्वपूर्ण हात रहेको छ । गोरखाली युवासँग आँट थियो, जोस थियो, जाँगर थियो, हिम्मत थियो, साहस थियो, अठोट थियो र सबैभन्दा अझ बढी देशप्रतिको भक्तिभाव थियो । त्यही कारण आफूभन्दा कता हो शक्तिशाली र बलिया राज्यहरूलाई पनि आफ्नो देशमा सहजपूर्वक मिलाउन सके । त्यही शक्तिका कारण विशाल नेपाल निर्माणको आधार तय भयो र आज हामी संसारसामु आफूलाई प्रस्तुत गर्न सकिरहेका छौँ । हामीभित्र रहेको शक्ति वा देशभक्तिको भावलाई संसारले सधैँ सम्मानको आँखाले हे¥यो, स्वाभिमानी नेपालीका निम्ति यो अत्यन्तै गर्वको विषय हो ।
दैनिक रूपमा हजारौँका सङ्ख्यामा युवा देश छाडिरहेका छन् । युवाले देश छाडिरहेका कारण गाउँ बस्ती खाली हुने शृङ्खला निरन्तर चलिरहेको छ । यस्ता कर्मले निरन्तरता पाउनुलाई कुनै हालतमा राम्रो मान्न सकिँदैन । यी कुरालाई सामान्य नजरले हेर्नु हुँदैन । दैनिक रूपमा देशबाट हजारौँ सङ्ख्यामा युवा पलायन हुनुलाई सामान्य मान्न हुँदैन । यो असामान्य कुरा हो, यसर्थ सोही आधारमा हेरिनु पर्छ । यस्ता कुराले हामी र हाम्रो देशलाई लाभ हैन केवल हानि मात्र गर्छ । यसर्थ, हामीले आज मात्र हेरेर वा सोचेर नभई हिजो, भोलि र पर्सि मनमा राखेर आजैदेखि काम गर्नु अति आवश्यक छ ।
आजको सकारात्मक कामले मात्र भोलि उज्यालो र सुन्दर हुने हो, अन्यथा त्यो सम्भव छैन । यसर्थ भोलिका लागि आजै काम थालिनु अति आवश्यक छ । युवाका चाहना र सोचलाई मनमस्तिष्कमा राखी योजना तर्जुमा गर्न सके युवा पलायनको क्रम साँघुरो बनाउन सकिनेमा कुरामा कुनै शङ्का छैन । यसर्थ सम्बन्धित पक्षको ध्यान आकर्षित हुनु अति आवश्यक छ ।
‘यो देशमा के छ र बस्नु, यहाँ बस्नेहरू त नसक्नेहरू मात्र हुन्, सक्नेहरू अवसरका लागि विदेश जान्छन्, त्यो रहर नभएर बाध्यता हो, बाध्यतालाई सबैले आत्मसात् गर्नै पर्छ । यो देशमा केही छैन, जे जति बाहिर छ, यसैले सक्नेहरू बाहिर गएका हुन् ।’ अधिकांश मानिसका मुख मुखबाट निस्कने प्रश्न प्रतिप्रश्न वा उत्तर यस्तै यस्तै हुने गर्छन् । आफूसँग इच्छाशक्ति भए यहाँ पनि धेरैथोक गर्न सकिन्छ । हामीले नगरेर नभएको हो, गरे अवश्य हुन्छ । नेतृत्व तहमा इच्छाशक्तिको विकास भए मुलुकले पनि काँचुली फेर्न सक्छ ।
जाँगर रोपौँ धेरैथोक फल्छन् । हुने भएरै विदेशबाट यहाँ धेरैभन्दा धेरै मानिस कामका लागि आएका हुन् । हाम्रो ध्यान त्यता पुग्न नसकेको हो । उनीहरूका देशबाट हामीले ल्याउने रेमिट्यान्सभन्दा तिनीहरूले यहाँबाट लैजाने रेमिट्यान्स धेरै छ । यस कारण हाम्रा पसिना यहीँ बगाऔँ । यो देशले हाम्रो रक्षा र सुरक्षा दुवै गरिरहेको छ, यस कारण पनि कृतघ्न नबनौँ । हामीले यसरी उनीहरूलाई कुरा बुझाउन पटक्कै सकिरहेका छैनौँ । त्यही बुझाउन नसकेकै कारण युवा पलायनको क्रम निरन्तर बढिरहेको हो, त्यतिातिर हाम्रो ध्यान जानु अति आवश्यक छ ।
एकातिर हिमाली र पहाडी भेगका अधिकांश घर खाली हुँदै गएका छन् त अर्कोतिर बचेखुचेका खेतबारी पनि क्रमशः बाँझोमा परिणत हुन थालेका छन् । गाउँघरमा खेताला गोठाला मात्र नभएर मलामी पनि पाइन छाडेको छ । मर्दापर्दा साथ दिने मानिस पनि पाइन छाडेका कारण बाँकी रहेका मानिस पनि आआफ्ना बस्ती छाड्न थालेका छन् । अर्काको नभएर आफ्नै श्रम गर्ने मानिस पनि पाइन छाडेका छन् । मानिसकै अभावमा गाउँठाउँका परम्परागत रूपमा हुने गरेका जात्रा, उत्सव, मेला, पर्वसमेत हुन छाडेका छन् । यी सकारात्मक कुरा हुँदै होइनन्, अर्थात् यसले निम्त्याउने बाटो सधैँ नकारात्मक हुने गर्छ ।
अचम्म त के भने २/४ लाख रुपियाँ लगाए देशभित्रै राम्रो आम्दानी गर्न सकिने अवस्था रहँदारहँदै पनि जानेर होस् वा नजानेर हाम्रा अधिकांश युवा विदेशी भूमितिर नजर फर्काइरहेका छन् तर हाम्रा ध्यान त्यतातिर पटक्कै जान सकिरहेकै छैनन् । न हामी बुझिरहेका छौँ न त युवालाई बुझाउन नै सकिरहेका छौँ । बुझ्ने र बुझाउने कामले गति नपाएका कारण यस्तो अवस्था सिर्जना भएको हो ।
वर्षौं वर्ष लगाएर लाखौँ रुपियाँ खर्च गरेर अवैध बाटोबाट अमेरिका जान तम्तयार हाम्रा युवाको मन त्यति पैसा लगाएर स्वदेशमै रोजगार बन्ने र बनाउनेतिर पटक्कै ध्यान दिँदैनन् । यसो भन्न सकिन्छ हामी आवश्यक मात्रामा गम्भीर बन्न सकिरहेका छैनौँ । यसैले समस्या समाधान गर्नतिर उन्मुख हुन सकिरहेका छैनौँ ।
केही दिनअघि मात्र रुकुम पश्चिमका एक युवाले लुटेराहरूको आक्रमणमा अमेरिकामा ज्यान गुमाए । समाचारमा आए अनुसार उनी अवैध बाटोबाट त्यहाँ पुगेका थिए र यसका लागि पनि ८० लाख रुपियाँ खर्चनु परेको थियो । यो सानो रकम होइन । त्यति रकमले यहाँ पनि राम्रो आम्दानी गर्न सकिन्थ्यो तर यो कुरा हामीले सम्झाउन र बुझाउन सकेनौँ । उता काम पाए पनि ती कति जोखिमपूर्ण हुन्छन्, जीवन कति सन्त्रासमा बाँच्नु पर्छ, शान्तिको महìव कस्तो यो पनि बताउन सकेनौँ । यी र यस्तै यस्तै कारणले हाम्रा युवा कति जोखिम मोलेर काम गर्छन् भन्ने कुरा पुष्टि हुन्छ । यसर्थ पनि युवाको मनोविज्ञान बुझेर राज्य गम्भीर बन्नु पर्छ ।