काठमाडौँ, साउन २० गते । सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको ११ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको निर्जीवन बिमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न प्रयत्नशील रहन राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई आग्रह गर्नुभयो ।
सरकारी स्वामित्वको कम्पनी भएकाले सबैभन्दा ठुलो व्यवसाय बनाउँदै देशको अग्रणी कम्पनी बन्न उहाँको आग्रह थियो । नियामकले तोकेको पुँजी पु¥याउने, रोकिएको लेखा परीक्षण समयमै सम्पन्न गरी संस्थाको विश्वसनीयता माथि उठाउने गरी काम गर्न पनि उहाँको आग्रह थियो ।
कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले पाँच दशकभन्दा लामो निर्जीवन बिमा व्यवसायको इतिहास बोकेको कम्पनीले देशमा बिमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा महìवपूर्ण योगदान गर्दै आइरहेको बताउनुभयो । कम्पनीले बिमा व्यवसायको विस्तार र सुदृढीकरणमा अग्रणी भूमिका खेल्दै प्रतिस्पर्धात्मक बजारमा कम्पनीको दरिलो उपस्थितिका लागि विविध जटिलता, कठिनाइ, चुनौती एवं सम्भावना सँगसँगै जोडिएको उहाँले बताउनुभयो ।
कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि आव २०७२/७३ सम्मको वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने आव २०७३/७४ र आव २०७४/७५ को वित्तीय विवरण तयार भई सम्बन्धित नियामक निकायबाट स्वीकृतिको चरणमा रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो । यसै आवभित्रमा कम्तीमा दुई आवको साधारण सभा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आव २०७६/७७ को अन्तिम लेखा परीक्षण भइरहेको, बिमाङ्कीय मूल्याङ्कनसहित आव २०७७/७८ र आव २०७८/७९ को अन्तिम लेखापरीक्षण यथाशीघ्र प्रारम्भ गर्ने र उक्त आवका साधारण सभासमेत सम्पन्न गर्ने अथक प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले सरकारले लिएको बिमासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रमहरूमार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बिमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको बताउनुभयो ।
व्यावसायिक अवसरलाई आफ्नो पक्षमा सुनिश्चित गर्न र नयाँ व्यावसायिक क्षेत्रको पहिचान गरी व्यवसाय विस्तार, कार्यदक्षता र व्यावसायिकता अभिवृद्धि गर्न कम्पनी निरन्तर लागिपरेको उहाँले बताउनुभयो । कम्पनीले स्थापना कालदेखि व्यवसाय अभिवृद्धिमा जोड दिएको र फलस्वरूप व्यवसायमा क्रमशः वृद्धि गर्दै मुनाफा आर्जन गर्न सफल भएको उहाँले बताउनुभयो ।
नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले गुणस्तरीय सेवा र दाबी भुक्तानीका लागि मुख्य गरी जोखिमाङ्कन विभाग र पुनर्बिमा विभागलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि कर्मचारीको उचित व्यवस्थापनमा ध्यान दिन पनि उहाँको सुझाव थियो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारी, कम्पनीका सञ्चालक तथा नेपाल बैङ्कका प्रमुख वित्त अधिकारी प्रकाश अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालालगायतको सहभागिता रहेको थियो । कम्पनीले २०७१ असार २७ गते बिमा समितिबाट निर्जीवन बिमकको इजाजत प्राप्त गरी २०७१ साउन १८ गतेदेखि निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।