• १२ असोज २०८१, शनिबार

आत्मनिर्भर अर्थतन्त्रको मुख्य आधार साना तथा मझौला उद्योग

blog

काठमाडौँ, साउन २० गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना मझौला उद्योगमा रहेकाले यस्ता उद्योगको प्रवर्धन र विकासमा सरकारले जोड दिएको बताउनुभएको छ । 

उद्योग मन्त्रालय र महासङ्घका पदाधिकारीबिच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताउँदै उहाँले आत्मनिर्भर अर्थतन्त्रको मुख्य आधार लघु एवं घरेलु साना तथा मझौला उद्योग रहेको बताउनुभएको हो । 

यी क्षेत्रलाई अझ समृद्ध बनाउनुहोस्, त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधीकारीसँग शुक्रबार भएको भेटमा मन्त्री भण्डारीले भन्नुभयो, “उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको छ ।”

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीकै लागि ‘स्टार्टअप’ कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उद्योग क्षेत्रको विकासका लागि लघु, घरेलु तथा साना उद्योगीको भूमिकाको सराहना गर्दै उहाँले मन्त्रालयले उद्योगको विकासका लागि वार्षिक कार्ययोजना बनाएर अगाडि बढेको र त्यसमा सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो । 

सो अवसरमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले सङ्घीय संरचना अनुरूप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्य क्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुमा गर्न आवश्यक भएको बताउनुभयो ।

विगतमा तीन तहकै सरकार सञ्चालनका क्रममा भोगेका अनुभवका आधारमा औद्योगिक व्यवसाय ऐनमा समसामयिक परिमार्जनको आवश्यकता रहेको सिंहले औँल्याउनुभयो । महासङ्घका अनुसार मुलुकभर तीन लाख ४८ हजार उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योग ३० देखि ४० प्रतिशत क्षमतामा सञ्चालनमा रहेका छन् । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५२ वटा मझौला उद्योग र ३३३ वटा साना उद्योग दर्ता भएका छन् । गत वर्ष दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा दोब्बरभन्दा बढी दर्ता भएका छन् । गत आवमा ठुला उद्योग भने ८५ वटा दर्ता भएका छन् ।