• २ माघ २०८१, बुधबार

पर्यटक लोभ्याइरहेको ठूलीदह (फोटो फिचर)

blog

मुसीकोट नगरपालिका–७ मा रहेको ठूलीदह। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन १९ गते। ‘अग्लो लेक, घना जङ्गलका बिचको हरियो अनि फराकिलो फाँट, मैदानको नजिक रहेको सुन्दर ताल।’ ठूलीदहका रूपमा परिचित मुसीकोट नगरपालिका –७ मा रहेको यस स्थानले पछिल्लो समय पर्यटक तानिरहेको छ। 

आन्तरिक पर्यटकको चहलपहल बढिरहेको ठूलीदह मनसुनको समयमा घुम्न सकिने एक उपयुक्त स्थान हो। जिल्ला सदरमुकामदेखि नजिकै, मध्यपहाडी राजमार्गको छेउमै रहेको यस दहमा जलवायु अनुकूलनमैत्री संरचना समेत निर्माण भइरहेका छन्। 

अन्य दिनमा भन्दा बिदाको दिनमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको स्थानीय यामुकारी पाण्डेले बताउनुभयो। यहाँ रुकुमपश्चिमा साथै जाजरकोट, रुकुमपूर्व र सल्यानबाट समेत घुम्न आउनेको सङ्ख्या बढिरहेको छ। 


ठूलीदहका रूपमा रहेको माथिल्लो स्थानमा ठुलो फाँट रहेको छ। यो स्थानमा चरिचरणका लागि ल्याइने गाईभैँसी, बाख्राको ओहोरदोहोरले थप रोमाञ्चकता दिइरहेको हुन्छ। जङ्गलको बिचमा रहेको सुन्दर फाँटमा भिडियो बनाउन, फोटो खिच्न, पिकनिक मनाउन दिनहुँ दर्जनौँ व्यक्ति पुग्ने गरेका छन्।

वडा अध्यक्ष एक्कबहादुर पाण्डेका अनुसार ठुली दह पर्यटकीय र धार्मिक रूपले पनि चर्चित रहेको छ। सोही वडाको तल्लो क्षेत्रमा सुन्दर साँख गाउँ रहेको छ। साँखमा खडेरी परेमा गाउँले ठूलीदहमा पुगेर पूजापाठ गर्छन्। यहाँ आएर पूजापाठ गरेका पानी पर्छ भन्ने विश्वास स्थानीयको रहेको छ।