• १२ असोज २०८१, शनिबार

दाउरा सङ्कलन गर्न जाँदा डुडुवा खोलामा डुबेका रोकायाको शव तीन दिनपछि भेटियो

blog

सिराज खान 

नेपालगन्ज, साउन १९  गते। डुडुवा खोलामा आएको बाढीमा दाउरा टिप्न गएका कोहलपुरका एक पुरुषको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ। 

कोहलपुरको क्रिकेट मैदान नजिकैबाट बाढीले बगाएर ल्याएका दाउरा टिप्न गएका जुम्ला कनका सुन्दरी गाउँपालिका–७ घर भएर हाल कोहलपुर–१० कालिकानगरका ६५ वर्षीय हरिबहादुर रोकाय खोलामा डुबेर बेपत्ता हुनुभएको थियो।

डुडुवा खोलाको कोहलपुर–७ को झरकट्टी भन्ने ठाउँमा रोकायाको शव शुक्रवार साँझ भेटिएपछि शनिबार पोष्टमार्टमपछि आफन्तले बुझेर लगेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले रोकाया डुबेको जानकारी आउने बित्तिकै उहाँको खोजी सुरु गरिए पनि फेला नपर्दा खोजी जारी रहेकोमा शुक्रबार साँझ अलि टाढा गएर फेला परेको बताउनुभयो।

यसैबिच जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले सूचना जारी गरेर वर्षाका कारण अहिले निरन्तर खोला र नदीमा पानीको बहाव बढ्दै गएकोले नदी तथा खोलामा नुहाउन वा दाउरा सङ्कलन गर्न नजान सर्वसाधारणसँग अनुरोध गरेको छ।

खोला नाला भएका विभिन्न वडा कार्यालयहरूले पनि वर्षाको समयमा खोला नालामा नजान वडावासीलाई आग्रह गरेका छन्।