• १२ असोज २०८१, शनिबार

लाखौँ खर्चेर किनेको खेत हेर्दाहेर्दै बन्यो बगर

blog

बाढीले बगाएको ट्याक्टर निकालिदै।

राधाकृष्ण डुम्रे

वालिङ, साउन १९ गते। स्याङ्जाको हरिनास गाउँपालिका–५ का रामु लम्साल क्षेत्रीले तीन वर्ष अगाडि ५२ लाख खर्चेर पाँच रोपनी खेत किन्नुभयो। छोराले कुवेतमा मेहनत गरेर कमाएको पैसा लम्सालले खेतमा लगानी गर्नुभयो। असार २२ गते आएको बाढीले पाँच रोपनी खेत हेर्दाहेर्दै बगर बनाइदिएको भन्दै लम्सालले अब के खाने भन्ने चिन्ताले पिरोलेको बताउनुभयो। 

हरिनास ५ कै कमला मानन्धरको १० रोपनी खेतको कुनै निसान नै छैन भने शालिकराम लम्सालको दुई रोपनी खेतको पहिल्याउन नै गाह्रो छ। उहाँहरूको मात्रै होइन बाढीले हरिनास गाउँपालिकाको ५ नम्बर वडा, चापाकोटको ४ र ५ नम्बर वडा र बिरुवा गाउँपालिकाको ६ नम्बर वडामा पर्ने उर्वर जमिनलाई बगर बनाइदिएको छ। 

चापाकोट नगरपालिका, हरिनास गाउँपालिका र बिरुवा गाउँपालिका भएर बग्ने खानी खोलामा असार २२ गते आएको बाढीले करोडौँको क्षति पुर्‍याएको हो भने एक हजार रोपनी भन्दा बढी जमिन बाझो बनाएको स्थानीय युवा विश्वास पुरीले बताउनुभयो।

स्थानीय दुर्गामान मानन्धरको दुई वटा ट्याक्टर समेत बगाएको छ। बाढीका कारण मिर्दी भिमाद सडकखण्ड अवरुद्ध छ भने हरिनास गाउँपालिका ५ र चापाकोट नगरपालिका ४ जोड्ने पक्की पुल क्षति पुगेको छ।

सयौँ रोपनी खेतमा सिँचाइ गर्ने २२ वटा कुलाको बाँध एक महिना हुँदा पनि बनाउन नसकिएको स्थानीय युवा पुरीले भनाइ छ। 

बाढीले हरिनास गाउँपालिकाको ५ नम्बर वडा, चापाकोटको ४ र ५ नम्बर वडा र बिरुवा गाउँपालिकाको ६ नम्बर वडामा धेरै क्षति पुर्‍याएको पुरीको भनाइ छ। बाढीको कारण १० करोड भन्दा धेरै क्षति भएको प्रारम्भिक अनुमान रहेको चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाण (ईश्वर)ले बताउनुभयो। 

बाढीले पुर्‍याएको क्षतिको जिल्ला स्थित विभिन्न कार्यालयले समेत अनुगमन गरेका छन् र आआफ्ना कार्यालयलाई ठुलो क्षति भएको विवरण पठाएको बताएका छन्। स्याङ्जाका सहायक जिल्ला प्रमुख अधिकारी दीपक पौडेलको नेतृत्वमा जिल्ला स्थित कार्यलालका प्रतिनिधिहरू निरीक्षणका लागि पुगेको थियो। 

बाढीले भित्र्याउन लागेको मकै र चैते धान नष्ट गरिदिएको छ भने रोप्न ठिक्क परेको खेत बीउसँगै पुरिदिएको  छ।