• ९ मंसिर २०८१, आइतबार

होमस्टेको आकर्षण बन्दै पानीघट्ट

blog

यदुप्रसाद भट्ट
मनाङ, साउन १८ गते ।
पर्यटक आकर्षणको केन्द्रबिन्दु बन्दै गएको मनाङमा होमस्टेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । अन्नपूर्ण पदमार्गमा पर्यटनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिजोआज होमस्टे परेको छ ।

२१औं शताब्दीमा आधुनिकतामा चुर्लुम्मै डुबेको बेला मनाङका होमस्टेहरु आफ्ना पाहुनालाई अर्गानिक तथा रैथाने अन्नबालीले स्वागत गरिरहेका छन् । आफ्नो होमस्टेमा आउने पाहुनालाई उनीहरुले पानीघट्टले पिसानी गरेको खाद्यवस्तुबाट विभिन्न परिकार बनाई खुवाउने गरेका छन् ।

नासोँ गाउँपालिका–८ ताचैमा रहेको ताचै होमस्टेले पाहुहरुलाई अर्गानिक खाद्य वस्तु त्यो पनि पानीघट्टमा पिसेर विभिन्न परिकार बनाई खुवाउने गरेको ताचै–८ का वडाध्यक्ष याद घले बताउनुहुन्छ । पाहुनाले पनि रमाईरमाई मीठो मानेर खाएको उहाँले स्मरण गर्नुभयो ।

धानखेती नहुने मनाङमा जौ, गहुँ, करु, उवा, फापर आदि हुन्छ । यहाँका स्थानीयले आफ्ना बारीमा उत्पादन भएका रैथाने बालीलाई पानीघट्टमा पिसेर विभिन्न परिकार बनाई खाने गर्दछन् ।

‘‘कहिले काँचै त कहिले भुटेर पिँध्ने गर्दछौं, यसरी पिस्दा पौष्टिक तत्व पनि नष्ट हुन्न, स्वादिलो पनि हुन्छ’, ताचैकी स्थानीय चन्द्रकाशी घलेले भन्नुभयो– ‘हाम्रो होमस्टेका पाहुनाले त झन् मीठो मानीमानी खान्छन् ।,’’ घलेले पाहुनाले पनि रुचाउने, स्वादिलो पनि हुने तथा पानीघट्टमा पिस्दा भिटामिन पनि नष्ट नहुने बताउनुभयो ।

ताचैकी अर्की स्थानीय महिला योगमाया घले पनि घट्टमा पिसेकोबाट बनेका खानेकुरा स्वादिलो हुने, बिरामी नहुने आदि जस्ता विशेषता हुने भएकाले आफूहरुले उपभोग गर्ने खाद्यन्न घट्टमा नै पिस्ने गरेको बताउनुहुन्छ । उहाँले पनि पाहुनाले स्वाद मानी मानी खाएको बताउनुभयो ।

त्यस्तै चामेका युवा उद्यमी शेराप विष्ट आफ्नो होमस्टेमा आउने पाहुनाहरुलाई पापरको रोटी, गहुँको भक्रिन (एक प्रकारको डल्लोडल्लो पारेर बनाइने तिब्बेतियन परिकार), चम्पा, बटर चिया, मौसमअनुसारको फलफूल आदिले स्वागत गर्ने गरेको बताउनुभयो । उहाँले मनाङका रैथानेबालीबाट बनाइएका परिकार महँगो पर्ने गरेको र खासै व्यवसायमा नाफा नहुने बताउनुभयो । पर्यटकले मन पराएका कारण आफ्नो गाउँ नजिक घट्ट नहुँदा पिसानीका लागि कि त गाउँमाथि तलेखु लैजानुपर्‍यो कि त गाउँमुनि कोतोमा लैजानुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पर्यटकले मन पराइदिँदा राम्रो त राम्रै भएको छ तर घट्टवालाले ज्यालामा पिसानी नगर्दा हामी मर्कामा परेका छौं, आफूखुसी ज्यालाबापत अनाज लिन्छन्, यसबाट हामीलाई घाटा पर्छ ।’’

यसरी कसरी घाटा हुन्छ त भन्ने यो संवाददाताको प्रश्नमा उहाँले घट्टमा पिस्न लैजानुभन्दा पहिले पानीमा पखालेर, सुकाएर, त्यसलाई भुटेर अनि मजाले फलेर पछि मात्र बल्ल घट्टमा पिस्न लैजाने हो । यसो गर्दा समय पनि धेरै खर्चनुपर्ने उहाँको भनाइ छ । विष्टले पनि आफ्नो होमस्टे सदरमुकाममै रहेकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पर्यटकलाई घट्टमा पिसेको खानेकुरा खुवाएर मात्रै हुँदैन, उनीहरुलाई यसबारेमा व्यापक रुपमा बुझाउन सक्नुपर्छ ।’’