धनुषाधाम नगरपालिका साबिकका धनुषाधाम, धनुषा गोविन्दपुर, उमाप्रेमपुर र यज्ञभूमि गाविस गाभिएर बनेको छ । यस नगरपालिका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिँदै आएको छ । यहाँको धनुष मन्दिर निकै प्रसिद्ध छ । त्रेतायुगमा मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान् श्रीरामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा तीन टुक्रा भएको थियो । त्यसमध्ये एक खण्ड आकाश, दोस्रो खण्ड पाताल र तेस्रो खण्ड धनुषाधाममा खसेको जनविश्वास छ । नगरपालिकाको नाम पनि प्रसिद्ध तीर्थस्थल धनुषाधामकै नामबाट नामकरण गरिएको छ । नौ वटा वडा रहेको नगरपालिकामा विभिन्न जातजाति र किसानको बाहुल्य रहेको छ । स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक प्रमुखमा निर्वाचित हुनुभएका बालेश्वर मण्डलसँग गोरखापत्र दैनिकका ढल्केबर समाचारदाता विजयकुमार साहले गर्नुभएको कुराकानी :
नगरप्रमुखका रूपमा दोस्रो कार्यकालको अनुभव कस्तो हुँदै छ ?
नगरवासीलाई स्थानीय सरकारको अनुभूति दिने गरी सेवा प्रवाह र विकास निर्माणको काममा जुटेका छौँ । कृषि, पशुपालन र पर्यटनमा राम्रो सम्भावना रहेको पालिका भएकाले कृषि उत्पादन र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेका छौँ । सबै वडामा सडक पहुँच पु-याएका छौँ । सडक स्तरोन्नति पनि प्राथमिकतामा नै छ । सिँचाइ योजना निर्माण, विद्यालयका भवन निर्माण भएका छन् । धनुषाधाम नगरपालिकालाई आर्थिक समृद्धि, सामाजिक रूपान्तरणतिर उन्मुख गराउन जोड दिएका छौँ । मौलिक कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदाको संरक्षण, व्यवसायको प्रवर्धन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । मैले पहिलो कार्यकालमा पक्कै पनि राम्रो काम गरेकाले जनताले मूल्याङ्कन गर्दै मलाई दोस्रो पटक यो अवसर प्रदान गर्नुभएको हो जस्तो लागेको छ । जनताको सोही विश्वासलाई सम्मान गर्दैै काम गरिरहेको छु ।
किसान बाहुल्य रहेको यहाँ कृषि क्षेत्रको सुधारका लागि के कस्ता योजना बनाउनुभएको छ ?
खेतीका लागि यहाँको भूभाग उपयुक्त छ । हामीले उत्पादन बढाउन किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेका छौँ । कृषि अनुदान, तालिम, मल बिउमा अनुदान र सिँचाइ सुविधा विस्तार गरेका छौँ । कृषि अनुदान, तालिम, मल बिउमा अनुदान दिने गरेका छौँ । सिँचाइ सुविधाका लागि सानो ट्युबवेल, इनार, डिप बोरिङको व्यवस्था मिलाएका छौँ । किसानलाई सुविधा होस् भनेर अनुदानमा सिँचाइ मोटर र पम्पिङ्सेट पनि उपलब्ध गराएका छौँ । सिँचाइका लागि किसानका खेत खेतमा विद्युतीयकरण गरिएको छ । कतिपय वडाले किसानको सिँचाइ मिटरको विद्युत् महसुल पनि तिरिदिएका छन् । तरकारी तथा फलफूलको उत्पादनलाई वृद्धि गर्ने योजना बनाएका छौँ । नगरपालिकाले आफ्नै लगानीमा शीतभण्डार पनि निर्माण गरिरहेको छ ।
यहाँका तीन वटा वडाले किसानको सिँचाइ विद्युत् महसुल तिरिदिएका छन् । नगरपालिकाबाट समग्र किसानको सिँचाइ विद्युत् महसुल तिर्न सकिँदैन ?
हामीले त्यस्तो सोच पनि बनाएका थियौँ तर नगरपालिकाबाट गर्दा दुरुपयोग बढ्ने सम्भावना देखेर पछि हट्यौँ । यस विषयमा कार्यपालिका बैठकमा छलफल पनि भयो । वडाबाट यस्तो काम हुँदा निगरानी गर्न सजिलो हुन्छ त्यसैले वडाबाटै केही बजेट छुट्याएर किसानको सिँचाइ विद्युत् महसुल तिरिदिए राम्रो हुन्छ भन्ने महसुस गरेका छौँ । यदि वडाले तिर्न सकेन भने पालिकाबाट तिर्ने योजना बनाउछौँ ।
शिक्षा क्षेत्रको सुधारका लागि के कसरी काम गर्दै हुनुहुन्छ ?
साँच्चै भन्नुपर्दा शिक्षा क्षेत्रमा हामीले भौतिक पूर्वाधार निर्माण, अनुगमन र विद्यालय व्यवस्थापन सुधार गरे पनि पठनपाठन सुधार गर्न सकेनाँै । म यसअघि २०७४ सालमा निर्वाचित भएर आउँदा जुन समस्या थियो त्यो अहिले पनि यथावत् नै छ । विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक सङ्ख्या अपुग छ । पठनपाठन सुधार हुनका लागि मुख्य रूपमा योग्य र कटिबद्ध शिक्षकको आवश्यकता पर्दछ । सङ्घ र प्रदेश सरकारले पर्याप्त सङ्ख्यामा शिक्षक पठाउन सकेका छैनन् । विद्यालयमा दरबन्दीको अभाव देखिएको छ । कतिपय विद्यालयमा निजी स्रोतमा शिक्षक भर्ना गरेर काम चलाइरहेका छन् । कतिपय विद्यालयसँग आम्दानीको स्रोत नै छैन । नगरपालिकाले पनि अब कुन कुन शीर्षकबाट कसरी खर्च गर्ने भन्ने समस्या छ । स्थानीय तहबाट गर्नुपर्ने सबै गरेका छौँ । तर शिक्षकको कमीले गर्दा पठनपाठनमा खासै सुधार हुन सकेको छैन । एउटा विद्यालयबाट अर्को विद्यालयमा शिक्षक पठाउँदा पनि शिक्षा समन्वय इकाइको स्वीकृति लिनु पर्छ । शिक्षक व्यवस्थापनका लागि पटक पटक पहल गरेको छु । विद्यार्थी र अभिभावक पनि हामीकहाँ आएर पढाइ राम्रो भएन भनेर गुनासो गरिरहेका हुन्छन् । हामीले विद्यालय प्रशासनसँग समन्वय गर्दा शिक्षकको अभाव रहेको भन्छ अब शिक्षकको व्यवस्थापन सङ्घ र प्रदेश सरकारले गरिदिनुप¥यो नभए दरबन्दी सिर्जना गर्ने अधिकार पालिकालाई दिनुप-यो ।
जनताको स्वास्थ्यको ख्याल कसरी गरिरहनुभएको छ ?
स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा धनुषाधाममै नगर अस्पताल सञ्चालन भइरहेको छ । १५ श्ययाको अर्को अस्पताल निर्माणको चरणमा छ र प्रत्येक वडामा आधारभूत स्वास्थ्य उपचार चौकी स्थापना गरिएको छ । सङ्घीय सरकारको स्वास्थ्य नीति अनुसार घरदेखि ३० मिनेटको दुरीमा स्वास्थ्य चौकी हुनुपर्ने हो, त्यो वातावरण हामीले मिलाएका छौँ । पहिला खोप लगाउने सुविधा वडाको कुनै एक ठाउँबाट मात्रै हुन्थ्यो । अहिले हामीले टोल टोलमै खोप लगाउने सुविधा बनाएका छौँ । रह्यो औषधीको कुरा त्यो पनि पर्याप्त मात्रामा उपलब्ध गराइरहेका छौँ । कतिपय औषधी सरकारको लिस्टमा नभए पनि अति आवश्यक औषधी नगरपालिकाबाट खरिद गरेर उपलब्ध गराउँदै आएका छौँ । नगरपालिकाको आफ्नै लगानीमा भिमानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएका छौँ । गत वर्ष सञ्चालनमा ल्याइएको सर्पदंश उपचार केन्द्रबाट अहिलेसम्म १३७ जनाले उपचार सुविधा पाएका छन् । त्यहाँ एउटा सर्पदंशका बिरामीको सुविधाका लागि चालु आर्थिक वर्षमा एम्बुलेन्स उपलब्ध गराउने तयारी भइरहेको छ ।
धार्मिक पर्यटनलाई अगाडि बढाउने के छ योजना ?
धनुषाधाम नगरपालिकाको समृद्धिको एउटा आधार भनेको धार्मिक पर्यटन पनि हो । यहाँ रहेको धनुषाधाम मन्दिर दर्शन गर्न वार्षिक रूपमा लाखौँ भक्तजन आउने गर्दछन् । यसलाई व्यवस्थित तथा आकर्षित बनाउन लागिरहेका छौँ । पर्यापर्यटनलाई जोड दिने योजना स्वरूप काम भइरहेको छ । ऐतिहासिक, पुराताìिवक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, संवर्धन, मन्दिर परिसरमा सञ्चालनमा आएका पसललाई पर्यटनमैत्री बनाउने काम गरिएको छ । बाहिरबाट आउने भक्तजनको बस्ने सुविधाका लागि दुईतले भवन निर्माण गरिरहेका छौँ । यहाँ रहेको धार्मिक महìवका धनुष सागर र वाणगङ्गा सरोवरलाई सौन्दर्यीकरण गर्ने काम भएको छ । धनुष सागरमा स्नान गरेर मुसे रोग (अइल्हा) र छारे रोग निको हुने जनविश्वास छ ।
पर्यटन क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौँ । धनुषाधाम मन्दिरलाई सौन्दर्यीकरण गर्न सङ्घीय सरकारले यस वर्ष ४५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । त्यसमा हामी पनि साझेदारी गर्छौं तर प्रदेश सरकारले अहिलेसम्म धनुषाधामलाई सहयोग गरेको अवस्था छैन । मेरो यो दोस्रो कार्यकाल तथा नगरप्रमुखका रूपमा सात वर्ष भयो । पर्यटन क्षेत्रसँग जोडिएको धनुषाधामको विकासका लागि प्रदेश सरकारबाट अहिलेसम्म अनुदान पाएकै छैनौँ ।