• १२ असोज २०८१, शनिबार

‘पानीपतिया’ माथि बहस

blog

काठमाडौँ, साउन १८ गते । काङमाङ नरेश राईको कृति ‘पानीपतिया’ का सन्दर्भमा राजधानीमा बिहीबार अन्तर्क्रिया गरिएको छ । पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर विषयक अन्तर्क्रियाका वक्ताले गोर्खा भर्ती र त्यसले नेपाली समाजमा विविधखाले सांस्कृतिक तथा सामाजिक प्रभाव पारेको चर्चा गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सो अवसरमा ‘खुवालुङ’ पत्रिका सार्वजनिक गर्नुभयो । राई जातिमा बोलिने भाषाको साझा पत्रिकाका रूपमा ‘खुवालुङ’ प्रकाशन गरिएको जनाइएको छ । राई जातिमा बोलिने २४/२५ भाषामध्ये लेख्य  परम्परा रहेका राई भाषाका सामग्री खुवालुङमा प्रकाशन गरिने छ ।

कुलपति राईले युगको माग अनुसार सांस्कृतिक, साहित्यिक बहसका लागि प्रतिष्ठानले पहल गरिरहेको बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले सबै भाषा, सांस्कृतिक समुदायको  सम्मान र उचित स्थानका लागि समय अनुसार साहित्यिक, सांस्कृतिक, सामाजिक र भाषिक बहस सञ्चालन भएको चर्चा गर्नुभयो ।

लेखक काङमाङ नरेश राईले ‘पानीपतिया’ कृतिमा गोर्खा सैनिकमा भर्ना भएका हरेक जातका सैनिकले घर आउँदा जङ्गबहादुर राणाले विसं १९१० मा ल्याएको मुलुकी ऐन अनुसार ब्राह्मण पुरोहितले चोख्याउने, भर्ना हुने बेला प्रतिज्ञा लिनुपर्ने र सैनिक ब्यारेकभित्रै पनि पुरोहितले सनातन विधिबाटै पूजा गराउने जस्ता विषयमा चर्चा गरिएको बताउनुभयो ।

उहाँले गोर्खा सैनिकमा भर्ना भएपछि देश र परिवार छोडेर अन्य मुलुकका लागि ज्यान दिनुपर्ने, जात व्यवस्थामा आधारित ऐन अनुसार जुनसुकै जातका भए पनि आफ्नो संस्कार नै बिर्सने गरी लादिएको ‘पानीपतिया’ परम्पराले सैनिक र सैनिकका परिवार र समुदायमा समेत सनातनको प्रभाव अहिलेसम्म पनि यथावत् रहेको बताउनुभयो । डा. तारालाल श्रेष्ठले पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असरबारे कार्यपत्र प्रस्तुत गर्दै गोर्खा भर्तीलाई अहिले पनि प्रतिष्ठाको विषय मानेर हरेक जातजातिका युवा सहभागी हुनका लागि प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले पानीपतिया कृतिले ज्यानको बाजी लगाएर युद्धमा सहभागी नेपाली गोर्खा सैनिकले भोगेको विभिन्न विभेदबारे बहस छेडेको बताउनुभयो । कार्यक्रममा नारायणी देवकोटा र गुरुङ सुशान्तले कार्यपत्रबारे टिप्पणी गर्दै नेपाली समाजमा विभेदको बाटो बनाउने पानीपतिया र गोर्खा भर्तीका कारण विशेष गरी जनजाति तप्कामा परेको सांस्कृतिक असरबारे अब छलफल हुनुपर्ने बताउनुभयो ।