गुणबहादुर रोका
सुलीकोट, साउन १७ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत आरुघाट–लार्के भञ्ज्याङ सडक अवरुद्ध भएको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण धार्चे गाउँपालिका–७ खानीबेसीको खोलामा बिहीबार बिहान ७ बजे आएको बाढीले सडक अवरुद्ध भएको हो ।
धार्चे गाउँपालिकाका अधिकांश स्थानमा बाढी र पहिरोले क्षति पुर्याउँदा उत्तरी गोरखा पुग्ने अधिकांश सवारी समाधान तथा पैदल यात्रु अलपत्र परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।
अधिकांश ठाउँमा सानासाना पहिरोलाई स्थानीय र धार्चे गाउँपालिकाको सहयोगमा पन्छाउँदै यात्रा गरिएता पनि बुधबार आएको बाढीले मुख्य सडक नै खोलाले बगाएकाले अहिले पैदल यात्रा गर्न पनि नसकिने भएको खानीबेसीका स्थानीय सुवास गुरुङले जानकारी दिनुभयो ।
खानीबेसी खोलामा आएको भीषण बाढीले मुख्य सडक बगाएपछि उत्तरी गोरखा आवतजावत गर्ने सवारी साधन तथा यात्रु बाटोमै रोकिएका छन् भने गोरखा सदरमुकामदेखि काठमाडौँ, पोखरा र चितवन जाने यात्रु धुनीबेसीमा रोकिएर बसेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो ।
बाढीले ५० मिटर बाटो अवरुद्ध भएको हो । मुख्य सडक भएकाले सडक खुलाउन धार्चे गाउँपालिकाको सहयोगमा जेसिबी प्रयोग गरी अस्थायी सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
बाढीले सडक अवरुद्ध भएपछि अहिले त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारी साधन तथा सर्वसाधारण बिहान ९ बजेबाट रोकिएका छन् । धार्चे गाउँपालिकाले बुधबार सूचना जारी गर्दै धार्चेवासी अत्यावश्यक बाहेक वर्षातको समयमा उक्त सडकखण्ड भएर यात्रा नगर्न अपिल गरेको छ ।
अहिले त्यस सडक क्षेत्रमा अस्थायी बाटो निर्माण गर्न धार्चे गाउँपालिका, नेपाली सेना, नेपाल प्रहरीको टोलीको सहयोगमा सडक खुलाउन लागि परेको धार्चे गाउँपालिकाले जनाएको छ । सम्भव भए आज बिहीबार बेलुकासम्म नभए शुक्रबारदेखि सवारी समाधान तथा सर्वसाधारणलाई हिँडडुल गर्न सहज गराउने प्रयास भइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ ।