फडिन्द्र अधिकारी
लेखनाथ, साउन १७ गते । गण्डकी अञ्चलका छ, धौलागिरिका चार र लुम्बिनीको नवलपरासी (नवलपरासी सुस्तापूर्व) गरी ११ जिल्ला रहेको गण्डकी प्रदेशका पृथक् विशेषता छन् । मानव विकास सूचकाङ्कमा अघि रहेको यो प्रदेश हिमालदेखि पहाड हुँदै तराईसम्म फैलिएको छ । भूगोलसँगसँगै यसका सामाजिक, सांस्कृतिक विविधता र मौलिकतासमेत छन् । गण्डकीका यिनै मौलिकता, सम्पदा र सम्भावनाबारे जानकारी दिने थलो बनेको छ, प्रदेश सङ्ग्रहालय पोखरा ।
प्रदेश राजधानी पोखराको मुख्य बजार नयाँबजारको करिब २३ रोपनीमा यो सङ्ग्रहालय छ । मुख्य बजारमै भए पनि यहाँ आउने पर्यटकको सङ्ख्या भने निकै कम छ । गएको वर्ष १८ हजार १३५ जनाले सङ्ग्रहालय अवलोकन गरेकामा अघिल्लो वर्ष १५ हजार ६१५ जना पर्यटक यहाँ आएका थिए । आर्थिक वर्ष २०७७/७८ मा ८९७ पर्यटक आएकामा २०७८/८९ मा नौ हजार २६७ पर्यटक आएका थिए । सङ्ग्रहालयकी प्रमुख करुण राई यसको बजारीकरण र प्रवर्धनमा योजनाबद्ध प्रयास थालिएको उल्लेख गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुरातत्व विभागले २०४१ मा बनाएको यो सङ्ग्रहालय २०७५ मा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । प्रदेशकै परिचय दिन सक्ने गरी यसको विकास र प्रवर्धन गरिँदै छ ।”
अहिले यो सङ्ग्रहालय गण्डकी सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमातहत छ । न्यून प्रवेश शुल्क रहेको सङ्ग्रहालयले यसबाट आर्जनभन्दा पनि नेपाली नागरिक र उत्सुक विदेशीलाई जानकारी पु¥याउने लक्ष्य लिएको छ । सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले सङ्ग्रहालयको योजनाबद्ध विकासका लागि सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यसका लागि बजेट पनि राखेका छौँ । भौतिक पूर्वाधारहरू पनि बन्दै छन् ।”
गण्डकी प्रदेशका सबै सूचना एकीकृत रूपमा उपलब्ध गराउने गरी सूचना कक्ष सञ्चालन गर्ने तयारी भएको प्रमुख राईले उल्लेख गर्नुभयो । यसमा चार वटा प्रदर्शनी कक्ष छन् । पहिलो कक्षमा गण्डकी प्रदेशका मुख्य जातजातिका डमीसहितको जानकारी राखिएको छ । दोस्रो कक्षलाई मुस्ताङ ग्यालरी नामकरण गरिएको छ । यहाँ पुरातत्व विभाग र जर्मन सरकारले गरेको उत्खननबाट प्राप्त सामग्री राखिएका छन् । उत्खननबाट प्राप्त केही सामग्री राष्ट्रिय सङ्ग्रहालय र कपिलवस्तुको सङ्ग्रहालयमा समेत राखिएकाले ती वस्तु प्राप्त गरी मुस्ताङ ग्यालरीलाई पूर्ण बनाउने सङ्ग्रहालयको योजना छ ।
तेस्रो कक्ष डायरोमामा प्रदेशका केही विशिष्ट पहिचान राखिएको छ । यहाँ भिरमौरीको मह काढ्ने कला (हनी हन्टिङ) को आकर्षक डेमोसमेत गत वर्ष तयार गरिएको छ । चौथो जनजीवन कक्षमा गण्डक क्षेत्रका सभ्यता, संस्कृति, बाजागाजा, पुराना भाँडाबर्तन आदि राखिएका छन् । थ्रिडी मोडेलमा प्रदेशका मुख्य ठाउँ, सम्पदा, भौगोलिक अवस्थाबारे जानकारी दिने डेमो बनिरहेको छ । सूचना कक्ष, प्रशासनिक भवन र आवास पनि तयार भएका छन् । दुई वर्षअघि बालउद्यान तयार भएपछि अहिले शनिबार र बिदाका दिन बालबालिकाको भिड लाग्ने गरेको छ ।
विसं २०६९ मै प्रदेश सङ्ग्रहालयको गुरुयोजना तयार भए पनि त्यस अनुरूप काम हुन सकेको छैन । यो वर्ष अडियो, भिजुअल कक्षका लागि बजेट विनियोजन भएको छ । एक करोड माग गरिएकोमा ६० लाख रुपियाँ बजेट रहेको प्रमुख राईले जानकारी दिनुभयो । प्रदेश सरकारले यहाँ पाँच करोड जति लगानी गरिसकेको छ । गुरुयोजनाबमोजिमका दुई भवन बन्न बाँकी छ । एक भवनलाई अभिलेखालयका रूपमा विकास गर्ने योजना छ । कार्यालय प्रमुख राई भन्नुहुन्छ, “सङ्ग्रहालय अनौपचारिक अध्ययन केन्द्र हो । बर्सैपिच्छे हामी आवश्यक वस्तु सङ्कलन गर्छौं । प्रदेशको परिचय दिने सबै जसो दस्ताबेज र वस्तु राख्ने योजना छ ।” सङ्ग्रहालयमा राखिने वस्तु अनुसन्धान गर्न प्रयोगशालासमेत जरुरी हुने उहाँले औँल्याउनुभयो ।