• ९ मंसिर २०८१, आइतबार

गुरुङ सम्पदा पदमार्गमा जोडियो तिमाङ

blog

यदुप्रसाद भट्ट

मनाङ, साउन १७ गते । एक हप्ताअघि पोखरामा भव्य कार्यक्रम गरी घोषणा गरिएको गुरुङ सम्पदा पदमार्गको अन्तिम बिन्दु मनाङको तिमाङ रहेको छ । कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङसम्मलाई गुरुङ सम्पदा पदमार्ग घोषणा गरिएको हो ।

सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा यो काम भएको हो । गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवं नेपाल पर्यटन बोर्डको प्रवर्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्व्होलासोँथार र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा काम भएको हो । स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रूपमा घोषणा गरिएको हो । 

पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै गएको मनाङमा गुरुङ सम्पदा पदमार्ग घोषणा गरिनुले आशाको किरण छाएको चामेका होटल व्यवसायी फुर्वा लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ पदमार्ग तथा रुट पहिचान हुनु भनेको पर्यटकको आगमन बढ्नु हो । पर्यटक बढ्दा होटल व्यवसाय चलायमान हुन्छ ।” पदमार्गको अध्ययन एवं अनुसन्धानका लागि गुरुङ पर्यटन व्यवसायी सङ्घले पदमार्ग योजनामा काम गरिरहेका इन्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट सञ्चारकर्मी, सङ्घका पदाधिकारी, पर्यटक पथप्रदर्शक समूहले पदमार्गको स्थलगत रूपमै खोज तथा अनुसन्धान गरेको थियो । सो समूहले पदमार्ग सफल हुने सम्भावना उच्च रहेको निष्कर्ष निकाल्दै पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन पनि तयार पारेको छ ।

गुरुङ सम्पदा पदमार्ग अन्तर्गत पर्ने ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई असर नपर्ने गरी प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानि नपु¥याई पदमार्गको विकास र प्रवर्धन गरिने सङ्घले जनाएको छ । सङ्घका संस्थापक अध्यक्ष बोरबजङ्ग गुरुङले गुरुङ सम्पदा पदमार्गले दुईवटा ऐतिहासिक विरासतलाई बोकेको बताउनुभयो । पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू अहिलेका बस्तीहरूमा फैलिएको उहाँको भनाइ थियो । 

दोस्रो ऐतिहासिक विरासतका रूपमा कास्की र लमजुङका गाउँमा अझै पनि मनाङ भोटको नुुन बोक्दाका कथाव्यथा सुन्न पाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले खोज गरिएको यो पदमार्ग नै तत्कालीन समयको नुनको व्यापारिक बाटो भएको उजागर भएको छ ।” यी पदमार्गमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उहाँको भनाइ छ । पोखराबाट मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङ्तिङ हुँदै क्रपुडाँडा, तप्रो, क्व्होलासोँथार, ठुलेक, थुर्जु, दुधपोखरी, गुरुङ देउराली (नामुन पास), डाँफेखर्क हुँदै मनाङको चामे गाउँपालिकाको तिमाङसम्म पुग्न सकिने गरी पदमार्ग पहिचान गरिएको हो । यही पदमार्गमा कास्कीका सिक्लेस, याङ्जाकोट, नागीधार, थाकलगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, घाम्राड, टक्सार, सिउरुङलगायत गाउँबाट सुरु गरेर यिनैमध्येका विभिन्न गाउँमा आवश्यकता र चाहना अनुसार छोटो तथा लामो दुरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिने उहाँले बताउनुभयो । 

यो पदमार्ग समुद्री सतहबाट एक हजार छ सय मिटर उचाइको ताङ्तिङदेखि सुरु भई पदयात्राको उच्च बिन्दु चार हजार ९१० मिटर उचाइको गुरुङ देउराली (नामुन भन्ज्याङ) सम्म छ । ताङ्तिङबाट माथि गइसकेपछि तीन हजार मिटर उचाइको कर्पुडाँडादेखि धेरै उकालो र ओरालो नगरी तिमाङसम्म पुगिने संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो । यस पदमार्गमा कास्की, लमजुङ, मनाङका भेडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई पनि प्रत्यक्ष देख्न र अनुभव लिन पाइन्छ । यस पदमार्गमा यार्चागुम्बा, जटामसी, सतुवा, पाँचऔँले, वनलसुन जस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँ ठाउँमा हावापानी अनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू प्रत्यक्ष अवलोकन गर्दै हिँड्न सकिन्छ ।