• १२ असोज २०८१, शनिबार

सात वर्षमा एक तिहाइ प्रगति

blog

अनिल पराजुली

हेटौँडा, साउन १७ गते । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रुतमार्गको प्रगति सात वर्षमा ३५ प्रतिशत मात्रै भएको छ । 

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन २०७६ भदौ १ गते मन्त्रीपरिषद्ले स्वीकृत गरी काम सुरु गरिएको राष्ट्रिय गौरवको आयोजनाको प्रगति सुस्त देखिएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्मको भौतिक प्रगति ३५.३८ प्रतिशत रहेको नेपाली सेनाका सहायक रथी एवं सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिनुभयो । द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति ३६.६६ प्रतिशत छ ।

पछिल्लो समय सेनाले निर्माणको काम दु्रत गतिमा गरिरहेको द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार खोकना, बुदुने र निजगढमा टोलप्लाजा निर्माण हुने छ । गत आवमा पाँच वटा प्याकेजको खरिद सम्झौता सम्पन्न भई कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । आयोजनाको १३ निर्माण प्याकेजमध्ये दु्रतमार्गको ६.५ किलोमिटरदेखि ७०.९६ किलोमिटरसम्मका प्याकेज निर्माणाधीन र कार्यान्वयनको अवस्थामा छ । खरिद प्रव्रिmया बाँकी रहेको प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकनाको जिरो किलोमिटरदेखि ६.५ किलोमिटरमा सु्रुङको विन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानपछि खरिद प्रव्रिmया सुरु गर्ने तयारी गरिएको छ । 

प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रव्रिmया सुरु हुन बाँकी रहेको सेनाले जनाएको छ ।

आयोजना अन्तर्गतका छ वटा सुरुङमार्गको कुल लम्बाइ १०.३०९ किलोमिटर रहेकोमा सुरुङमार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाई तीन हजार ३५५ मिटरमध्ये दायाँ टनेल तीन हजार ३३८ मिटरमध्ये दुई हजार २२८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सम्पन्न भएको छ । बायाँ टनेल तीन हजार ३२२ मिटरमध्ये दुई हजार २० मिटर अर्थात् ६१ प्रतिशत खन्ने काम सकिएको छ । 

प्याकेज नं. २ अन्तर्गत धेद्रे सुरुङमार्गको लम्बाइ एक हजार ६९१ मिटरमध्ये बायाँ टनेलको एक हजार ७२८ मध्ये एक हजार ६४२ अर्थात् ९५ प्रतिशत खन्ने काम भएको छ भने निजगढबाट काठमाडौँतर्फ जाने दायाँ टनेल एक हजार ६५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको थियो । 

प्याकेज नं. ३ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङ निजगढबाट काठमाडौँतर्फ आउने एक हजार ६१२ मिटर लामो सुरुङमार्ग असारमा र काठमाडौँबाट निजगढतर्फ जाने एक हजार ६३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको छ ।

यस्तै प्याकेज नं. ४ अन्तर्गत एक हजार मिटर लम्बाइको देवीचौर सुरुङ र प्याकेज नं. ५ अन्तर्गतको ३९० मिटर लम्बाइको सिसौटार सुरुङको खरिद सम्झौता सम्पन्न भई डिजाइनको व्रmममा रहेको सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै प्याकेज नं. ६ अन्तर्गतको दुई हजार २५० मिटरको चन्द्राम भिर सुरुङको पोर्टल तयारी भइरहेको छ । 

८९ पुलमध्ये हालसम्म ८५ स्थानको ठेक्का व्यवस्थापन भइसकेको र चार स्थानको पुलको जग्गा अधिग्रहणको समस्या छ । ८१ मिटर उचाइसम्म पुल रहेको जानकारी दिँदै सहायक रथी पोखरेलका अनुसार निर्माणाधीन अधिकांश पुलको फाउन्डेसनको काम सकिएको बताउनुभयो । पाँच वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ । 

द्रुतमार्गको २६ किलोमिटरदेखि ३५ किलोमिटरमा पर्ने महादेवटार, धेद्रे र लेनडाँडाखण्ड तथा ४९ किलोमिटरदेखि ७० किलोमिटरसम्म पर्ने राजदमार, बागदेव र निजगढखण्डको पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार गत पुस १२ गते जग्गा अधिग्रहण तथा रुख कटान सम्पन्न भई हस्तान्तरणका क्रममा रहेको सेनाले जनाएको छ ।

द्रुतमार्गको सबबेस निर्माण, बायो इन्जिनियरिङ कार्य, रोड साइड निर्माण, पर्खाल निर्माण, सेवा दिने सडक निर्माणलगायतका काम धमाधम भइरहेको छ ।

द्रुतमार्गको लम्बाइ ७०.९७७ किलोमिटर छ । २०८०–८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा पूरा नहुने भएपछि २०८३ सालसम्मका लागि म्याद थपिएको छ । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड पुगेको छ ।