काठमाडौँ, साउन १७ गते । एमसिसी परियोजना अन्तर्गतका सबै विद्युत् सबस्टेसनको निर्माण सम्झौता सम्पन्न भएको छ । परियोजना कार्यान्वयन कार्यालय एमसिए–नेपालले तनहुँ जिल्लाको दमौलीमा बन्ने चार सय केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणको बुधबार ठेक्का सम्झौता गरेको छ ।
सो सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको एमसिए नेपालले जनाएको छ । सम्झौतासँगसँगै एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटै चार सय केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राबिब अग्रवालले सो सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
यसअघि गत जेठमा नुवाकोटको रातमाटे सबस्टेसन निर्माणका लागि पनि सोही कम्पनीलाई चयन गरी ठेक्का प्रदान गरिएको थियो । न्यु दमौली सबस्टेसन एक हजार मेगा भोल्ट एम्पिएर क्षमताको बन्ने छ जसले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनलाई आबद्ध गर्ने छ ।
हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीन वटै सबस्टेसन निर्माण समयमै सम्पन्न गर्न सशक्त पहल गर्न पनि सरोकारवालालाई आह्वान गर्नुभयो । अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले तीव्र गतिमा प्रगति भइरहेको ऊर्जा क्षेत्रको दिगोपन र बलियो आधारका रूपमा यी सबस्टेसन महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अमेरिकी राजदूत डिन.आर. थम्प्सनले समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पु¥याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसिसी नेपाल कम्प्याक्ट सफलता उन्मुख भएको टिप्पणी गर्नुभयो ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनै वटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महìवपूर्ण कोसेढुङ्गा रहेको उल्लेख गर्नुभयो ।
एमसिसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमी लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दै छ । अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन कार्य भइरहेको एमसिएले जनाएको छ । यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य रहेको जनाइएको छ । त्यस्तै बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको एमसिएले जनाएको छ ।
सडक मर्मत आयोजनातर्फ ‘फुल डेप्थ रिक्लेमेसन’ सम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।