• ११ पुस २०८१, बिहिबार

स्थानीय पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्नेगरी काम हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह ।

ललितपुर, साउन १६ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्ने गरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिनुभएको छ । आज यहाँ स्थानीय पूर्वाधार विभागका कामकारबाही र आगामी योजनाबारे जानकारी लिनुभएपछि उहाँले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्त्वपूर्ण रहेकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिनुभएको हो । 

“स्थानीय पूर्वाधार विकासका क्षेत्रमा प्रभावकारीरुपमा काम गरौँ, केही अप्ठ्यारा भए मन्त्रालय समन्वय गर्न तयार छ । जनताको प्रत्यक्ष चासोसँग जोडिएका झोलुङ्गे पुल, ग्रामीण सडक, प्रशासकीय भवनजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईँहरूकै काँधमा छ । त्यसैले कामको गतिसँगै गुणस्तर बढाउनु लाग्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । 

त्यस अवसरमा हालसम्म विभागले देशभर तीन सय ६४ पालिकाका प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको र एक सय ४९ भवन निर्माणाधीन अवस्थामा रहेका जानकारी दिइएको थियो । यस्तै, आर्थिक वर्ष ०८१/८२ मा विभागले ६८ स्थानीय तहका प्रशासकीय भवन, तीन सय झोलुङ्गे पुल, ४० वटा सडक पुल र एक सय किलोमिटर पक्की सडक र ७० किलोमिटर सडक निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको विभागले जनाएको छ । रासस