• १२ असोज २०८१, शनिबार

तीन लाख ४० हजारको आँखाको उपचार

blog

फाइल तस्बिर

चितवन, साउन १६ गते । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो । 

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ । स्कुलमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको घिमिरेले बताउनुभयो । चितवनसहित छिमेकी जिल्लामा अस्पताल मातहत १७ आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको छ । ती केन्द्रबाट ५२ हजार एक सय ४९ जनाले सेवा लिएका छन् ।

अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३४ हजार एक सय थियो । यो अघिल्लो वर्ष भन्दा ५२ दशमलव ९१ प्रतिशतले बढी हो । मुख्य अस्पताल रहेको भरतपुरबाट एक लाख ६१ हजार सात सय ७६ जनाले सेवा लिएका छन् । यो अघिल्लो वर्षको भन्दा चार प्रतिशतले बढी हो । सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार चार सय ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या १० हजार चार सय १५ थियो । 

अघिल्लो वर्षभन्दा गत आर्थिक वर्षमा नौ दशमलव ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठका अनुसार एउटा विशेषज्ञ सेवा सहितको अस्पताल, तीन सेकेन्डरी अस्पताल र १७ आँखा उपचार केन्द्र छन् । भरतपुर महानगरपालिका-१० मा विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पताल छ । पर्साको ठोरी, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को कावासोती र बाराको सिम्रनगढमा आँखाको सेकेण्डरी अस्पताल छ ।

भरतपुर नजिकै आँखाको सहरी क्लिनिक छ । चितवन, नवलपरासी  (बर्दघाट-सुस्ता पूर्व), धादिङ्, तनहुँ, बारा, पर्सा, सर्लाही र सिन्धुलीमा १७ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बिरामीको चाप बढेको उहाँले बताउनुभयो । अस्पतालका निर्देशक डा.पुष्पा गिरी श्रेष्ठले सहरसँगै ग्रामीण क्षेत्रमा आँखाका बिरामी विभिन्न कारणबाट अस्पतालसम्म आउन नसकेको भन्दै गाउँगाउँमा शिविरमार्फत उपचार दिने गरिएको बताउनुभयो । 

शिविरहरुमा समस्या देखिएका बिरामीलाई सेकेण्डेरी अस्पताल र विशेषज्ञ अस्पतालमार्फत थप उपचार सेवा दिने गरेको उहाँले बताउनुभयो । अहिले नेपालमा उपलव्ध अधिकांश आँखा उपचार सेवा दिन अस्पताल सक्षम रहेको निर्देशक श्रेष्ठको भनाइ छ । रासस