• ९ मंसिर २०८१, आइतबार

खिर खाने दिन नब्बे लाख लिटर दुध खपत

blog

काठमाडौँ, साउन १६ गते । साउन १५ गते खिर खाने दिन देशभर करिब ९० लाख लिटर दुध खपत भएको छ । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खिर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दुख खपत भएको हो । ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको जनाइएको छ ।

साउन १५ लाई खिर खाएर मनाइन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने चलन प्राचीनकालदेखि चल्दै आएको हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो । दुधमा मसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।   

डेरी एसोसिएसनले मङ्गलबार विभिन्न कार्यक्रम गरी खिर खाने कार्यक्रम सम्पन्न गरेको हो । एसोसिएसनले आफ्नै कार्यालयमा अन्तर्क्रिया कार्यक्रम गरी खिर खाने दिनलाई सम्झेको उहाँले बताउनुभयो ।  कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले दुग्ध क्षेत्रको समस्यामा आफू पनि गम्भीर भएर लागिरहेको र समस्या समाधानका लागि सबै एक भई लाग्नुपर्ने कुरामा जोड दिनुभयो । 

केन्द्रीय दुग्ध सहकारी सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले किसानले उद्योगीबाट किसानको बाँकी भुक्तानी गर्नका लागि विभिन्न समयमा सम्झौता गरे पनि हालसम्म भुक्तानी नपाएको गुनासो गर्नुभयो । अप्टिमेस्टिक इन्टरनेसनलका गभर्नर प्रकाश घिमिरेले दुग्ध क्षेत्रको समस्या समाधानका लागि सदा सकारात्मक भई अगाडि बढ्न प्रयास भइरहेको बताउनुभयो । निर्यात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष गोविन्द घिमिरेले डेरी क्षेत्रको छुर्पी अग्र स्थानमा रहेको र यसमा निर्यात सङ्घको पूर्ण साथ रहने कुरा बताउनुभयो ।