• ९ मंसिर २०८१, आइतबार

७२ हजार नक्कली भारतीय रुपियाँसहित एक पक्राउ

blog

सीमापारि रुपैडिहामा नक्कली नोटसहित पक्राउ परेका भारतीय नागरिक । तस्बिर सौजन्य : रुपैडिहा प्रहरी थाना

सिराज खान
नेपालगन्ज, साउन १५ गते । 
यहाँस्थित नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो ।

रुपैडिहास्थित भारतीय आदर्श प्रहरी थानाले दिएको जानकारी अनुसार गुप्तचर एजेन्सीको सूचनाका आधारमा रूपैडिहा थानाको टोलीले नक्कली भारतीय नोटको गड्डीसहित बहराइच मोतीपुरका ४० वर्षीय कैलाशलाई पक्राउ गरेको हो ।

रूपैडिहा थानाका प्रमुख प्रहरी निरीक्षक शमशेरबहादुर सिंहले थानाका वरिष्ठ उपनिरीक्षक अनिलकुमार यादव, बाबागन्जका चौकी इन्चार्ज राम गोविन्द बर्मालगायतको गस्ती टोलीले नेपाल–भारत सीमा नजिक आइसीपी रोडबाट ७२ हजार नक्कली भारतीय रुपियाँसहित कैलाशलाई पक्राउ गरिएको बताउनुभयो ।

उहाँले यो घटनाबाट सीमा बजारमा तस्करी गर्नेहरूले नक्कली नोटको कारोबार गरिरहेको हुनसक्ने सम्भावना बढेको जनाउँदै थप अनुसन्धान भइरहेको बताउनुभयो ।

बरामद भएको नक्कली नोट सबै भारतीय रुपियाँ पाँच सयको रहेको जानकारी दिनुहुँदै प्रहरी निरीक्षक सिंहले नाकामा हुने विभिन्न आपराधिक र गैर कानुनी कार्य गर्नेहरूमाथि निगरानी कडा पारिएको बताउनुभयो ।

पक्राउ परेका कैलाशले पछिल्लो ६ महिनादेखि नक्कली भारतीय रुपियाँको कारोबार गरिरहेको स्वीकार गरेपछि घटनालाई अझ गम्भीर ढङ्गले लिइएको भारतीय प्रहरीले जनाएको छ ।

सीमावर्ती बजार रुपैडिहामा सडकमा बसेर धेरै जनाले नेपाली भारु सटही गर्दै आएका छन् । उनीहरूले नै नक्कली नोट नेपालीहरूलाई दिने गरेको आशङ्का गरिएको छ ।

मुद्रा सटही गर्नेहरूले दैनिक लाखौँ रुपियाँको भारतीय रुपियाँ बिक्री गर्ने गरेका छन् । यसरी सो भारतीय रुपियाँ खरिद गर्नेहरूमा विशेष काम र रोजगारीका लागि भारत जाने नेपालीहरू नै बढिरहेका छन् ।