• ८ मंसिर २०८१, शनिबार

सुदूरपश्चिममा ६२० जनालाई स्क्रब टाइफस

blog

अविनाश चौधरी
धनगढी, साउन १५ गते । 
सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात महिनामा ६२० जनालाई स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।

मुसामा रहने किर्नाको टोकाइबाट मानिसमा यो रोग देखा परेको हो । अहिले स्क्रब टाइफसको सङ्क्रमण बढी हुने सिजन नै रहेकाले धेरै जना यो रोगबाट ग्रसित भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताउनुभयो ।

मान्छेहरू खेत, झाडीमा काम गर्न जाँदा यो रोग सार्ने किर्नाले टोक्ने गरेको जनाइएको छ । यसैगरी, जङ्गलमा गएको बेला किर्नाले टोक्ने सम्भावना अझ बढी हुने गरेको बताइएको छ ।

निर्देशनालयका अनुसार जनवरीदेखि हालसम्म स्क्रब टाइफसका सबैभन्दा बढी बिरामी २१५ जना डडेलधुरामा फेला परेका छन् । यसैगरी, अछाममा ११८, बैतडीमा ८३, दार्चुलामा ६०, डोटीमा४९ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै, कैलालीमा ४९, बाजुरामा २२, बझाङमा १७ र कञ्चनपुरमा १२ जना स्क्रब टाइफसबाट सङ्क्रमित भएका छन् ।

जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट स्क्रब टाइफस मान्छेलाई लाग्ने गरेको जनाइएको छ । जोशीका अनुसार मुसालाई टोकेर किर्नाले स्क्रब टाइफसको ब्याक्टेरिया लिने गर्दछन् । त्यस्तो किर्नाले मान्छेलाई टोकेर ब्याक्टेरिया मान्छेमा सारेपछि स्क्रट टाइफस रोग लाग्ने गर्दछ । “घरमा हुने मुसाभन्दा पनि जङ्गलमा पाइने मुसामा रहेको किर्नाले टोकेमा स्क्रब टाइफस रोग लाग्ने गर्दछ”, उहाँले भन्नुभयो ।

स्क्रब टाइफस रोग लागेमा समयमा रोग निदानका लागि उपचार नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । तर, समयमै उपचार गरेमा ५ देखि ७ दिनमा बिरामी निको हुने गरेको जोशीले बताउनुभयो । स्क्रब टाइफसबाट बिरामीको अकालमै मृत्यु हुन नदिनका लागि समयमै रोगको पहिचान र निदान आवश्यक रहेको बताइएको छ ।

मानिसलाई स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन अङ्गमा गडबडी तथा शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण देखिने गरेको जनाइएको छ । यो रोगको समयमै उपचार नगराएमा कलेजो, मिर्गौला, फोक्सो, मुटु लगायतका अङ्गमा सङ्क्रमण फैलेर बिरामीको मृत्यु समेत हुन सक्ने चिकित्सकको भनाइ छ ।

बच्ने उपाय

स्क्रब टाइफसबाट बच्न रोगको ब्याक्टेरिया सार्ने माइटहरुको सम्पर्कबाट टाढा रहनु नै सबैभन्दा उत्तम उपाय रहेको जनाइएको छ । यसैगरी, घर वरिपारि सफासुग्घर राख्नु पर्ने, जङ्गल, झाडीमा सकेसम्म नजाने, जानै परे शरीर ढाक्ने गरी कपडा लगाउनु पर्ने बताइएको छ । यसैगरी, हातमा पञ्जा र खुट्टामा लामो बुट लगाउन आवश्यक रहेको जोड दिइएको छ ।