• ८ मंसिर २०८१, शनिबार

सर्पका बिरामी बढे, छैनन् चिकित्सक

blog

सिन्धुलीको दुधौली नगर अस्पतालमा सर्पले टोकेका बिरामी उपचार गराउँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, साउन १५ गते । सिन्धुलीको दुधौली नगरपालिका–७ निवासी ३७ वर्षीया सम्झना थापा विषालु गोमन सर्पको टोकाइबाट बिरामी भएर स्थानीय दुधौली नगर अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएको छ । 

अस्पतालका अनुसार घरमा राति सुतेर उठ्दा मङगलबार बिहान साढे ५ बजेतिर घरको काम गर्न बाहिर–भित्र गर्नेक्रममा करेसामा गरेको ढलानको चेपमा लुकेर बसेको गोमन सर्पले उहाँको खुट्टामा टोकेर बिरामी बनाएको थियो । अहिले उहाँको स्वास्थ्यमा सुधार हुदैआएको छ ।

उहाँको उपचारमा संलग्न अस्पतालका चिकित्सक (एमडिजिपी) सुमनसिं कार्कीले बिरामी थापालाई २० भाएल एन्टिस्नेक भेनम औषधी चलाएर उपचार गरिरहनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार हुँदैआएको जानकारी उहाँले दिनुभयो । उक्त अस्पतालमा अहिले दैनिक विषालु बाहेक अन्य सर्पले टोकेका चार–पाँच जना बिरामीलाई इमर्जेन्सीमा राखेर उपचार गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्पले टोकेका बिरामीलाई उपचार गर्न नगरपालिकाले सहयोग गरिरहेको छ । अस्ति भर्खरै पनि सर्पले टोकेको २ वर्षको बालिकालाई यहाँ उपचार सम्भव नभएपछि भेन्टिलेटरमा राखेर धरान लगेर उपचार गरिएको थियो । सबै खर्च नगरपालिकाले व्यहोरेर सहयोग गरेको छ ।’ 

त्यसो त दुधौली नगर अस्पतालमा सर्पले टेकेका बिरामीको उपचार गर्ने विशेषज्ञ चिकित्सक छैनन् । त्यस्ता बिरामीको उपचार गर्न सम्बन्धित विशेषज्ञ चिकित्सक अस्पतालमा नभएपछि कार्यरत एमडिजिपी चिकित्सक कार्कीलाई नै नगरपालिकाले सर्पले टोकेका बिरामीको उपचार गर्ने तालिम दिलाएर काम चलाएको स्थानीयले बताएका छन् ।

त्यस्तै, दुधौली नगरपालिका–५ निवासी नरबहादुर पुलामीको दुई वर्षीया छोरीलाई पनि केही दिनअघि घरको जाँतोको छेउमा मुसाको प्वालमा साँझपख हात हाल्ने क्रममा गोमन सर्पले डसेर घाइते बनाएको थियो । सर्पको टोकाइले बेहोस बिरामी बालीकालाई दुधौली नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि धरान लगेर उपचार गरिएको अभिभावक नरबहादुर पुलामीले जानकारी दिनुभयो ।

हरेक वर्ष गर्मी मौसमको सुरुसँगै असोज–कात्तिक महिनासम्म दुधौली नगरपालिका सहित कमलाखुँज क्षेत्रका बासिन्दा गोमन र करेतजस्ता विषालु सर्पको बिगबिगिबाट त्रसित हुने गरेका छन् । त्यस क्षेत्रमा विषालु सर्प दंशका बिरामीको उपचारका लागि सर्पसम्बन्धी विशेषज्ञ चिकित्सक नहुँदा समस्या हुँदैआएको उहाँको भनाइ छ । 

दुधौली नगर अस्पताल व्यवस्थापन समितिका सदस्य अर्जुन कार्कीले यो वर्ष मात्र गर्मी मौसमको सुरु भएसँगै अस्पतालले सर्पले टोकेका २५ जनाभन्दा बढी बिरामीको उपचार गरेको र पाँच जना गोमन र करेतजस्ता विषालु सर्पले टोकेको बिरामी रहेको जानकारी दिनुभयो । 

गत वर्ष दुधौली नगरपालिकामा गर्मी मौसममा सर्पको टोकाइबाट ४६४ जना बिरामी भएका र ती मध्ये चार जनाको ज्यान गएको थियो । जिल्लाका नौ वटा स्थानीय तहमध्ये दुधौली नगरपालिका विषालु सर्पको जोखिम क्षेत्र मानिन्छ । 

दुधौली नगरपालिकाका उप–मेयर चन्द्रकिशोर थारुले सर्पले टोकेका बिरामीको सम्पूर्ण उपचार खर्च र चिकित्सकको तलब सबै नगरपालिकाले व्यहोर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगर अस्पतालमा सर्पको टोकाइसम्बन्धी उपचार गर्ने विशेषज्ञ चिकित्सक नभए पनि कार्यरत चिकित्सकलाई त्यससम्बन्धी तालिम दिएर काम चलाएका छौँ ।’