• ११ असोज २०८१, शुक्रबार

स्थानीय तह निर्वाचन : विराटनगरमा चुनावी सरगर्मी

blog

धीरज दाहाल

विराटनगर, वैशाख २१  गते । प्रदेश १ को एक महानगरपालिका विराटनगरमा चुनावी सरगर्मी बढ्दो छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दलले प्रचार तीव्र पारेका छन् । मतदाता आकर्षित गर्न स्थानीय समस्यालाई समेटेर प्रतिबद्धतापत्र तयार पारी घरदैलोमा उम्मेदवार व्यस्त छन् ।

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनबाट प्रमुख पदमा नागेश कोइराला र उपप्रमुख पदमा अमरेन्द्र यादव उम्मेदवार हुनुहुन्छ । उहाँहरू बिहानदेखि बेलुकासम्म घरदैलोमा पुगेर मतदाता भेट्न व्यस्त हुनुहुन्छ । विभिन्न सङ्घ संस्थाद्वारा आयोजित कार्यक्रममा गएर गठबन्धन उम्मेदवारलाई मत माग्नु र समुदायका अगुवासँग दैनिक भेटघाट गर्नु उहाँहरूको दैनिकी बनेको छ । 

महानगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट प्रमुख पदमा सागर थापा र उपप्रमुख पदमा शिल्पा निरौला कार्कीको उम्मेदवारी रहेको छ । उहाँहरू दैनिकजसो घरदैलोमा व्यस्त हुनुहुन्छ । विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका थापाले आफ्नो चुनावी दौडलाई तिव्रता दिएका छन् । महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट उपप्रमुखमा नमिता न्यौपानेको उम्मेदवारीले महानगरका मतदाताबीच चर्चा पाइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख पदमा प्रह्लादप्रसाद साह र उपप्रमुख पदमा बबिता आचार्यले प्रतिस्पर्धा गर्नुभएको छ । 

विराटनगर महानगरपालिका प्रदेश १ को मुख्य राजनीतिक, व्यापारिक केन्द्र र औद्योगिक केन्द्र हो । जनसङ्ख्याका हिसाबले ठूलो महानगरपालिका रहेको विराटनगरका मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न राजनीतिक दलले महात्त्वाकाङ्क्षी विकास आयोजनासमेत सार्वजनिक गरिहेका छन् । विराटनगरमा एक लाख ३३ हजार १४२ मतदाता रहेका छन् । चुनावी लहर सिर्जना गरेर स्वतन्त्र मतदातालाई प्रभावित पार्न दलले त्यही खालको प्रचार शैली अपनाएका छन् । 

राणा शासन अन्त्यको मजदुर आन्दोलन विराटनगरबाटै सुरु भएको थियो । लोकतान्त्रिक आन्दोलनमा विराटनगरको आफ्नै महत्त्व र विशेषता छ । नेपालमा औद्योगिक विकासमा विराटनगरको उद्योगले आफ्नै महत्त्व राख्छ । यद्यपि उद्योगको सहरको परिचय पाएको विराटनगरमा अहिले सयौँ उद्योगहरू बन्द छन् । 

औद्योगिक सहर विराटनगर उद्योगका नाममा अहिले गुमनाम छ । महानगरपालिका बनाउने क्रममा जनसङ्ख्या पु-याउन जोडिएका आसपासका थुप्रै ग्रामीण भेगको आर्थिक, सामाजिक र पूर्वाधार विकासका अवस्थाले पनि महानगरको समृद्धिमा उत्तिकै चुनौती थपिदिएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा भीम पराजुलीसहित उपप्रमुख र बहुमत वडा नेपाली काँग्रेसले विजय गरेको थियो । पराजुलीले २३ हजार ३१ मत ल्याएका थिए । प्रमुख प्रतिस्पर्धी र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गर्नुभएको थियो । त्यो बेला महानगरको नेतृत्व सम्हालेका पराजुलीले केही महत्त्वकाङ्क्षी योजनाहरू सार्वजनिक गर्नुभएको थियो । यद्यपि जनअपेक्षा अनुरूप महानगरको विकासमा खास फड्को मार्न नसकेको गुनासो स्थानीयको छ । 

केही योजनाहरू कार्यान्वयनमा गएका भए पनि केही अधुरानै छोडिएका छन् । ७६ दशमलव नौ वर्ग किलोमिटरमा फैलिएको महानगरको मुख्य चुनौती भनेकै ग्रामीण भेगको विकास, डुवानीको समस्या र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका योजनानै हुन् । जनताका आधारभूत आवश्यकताको पूर्णता र विकासका चाहनामा मतदाताले विवेकपूर्ण मतदान गर्ने छन् र विश्वासिलो प्रतिनिधि चयन गर्ने छन् भन्ने अपेक्षा सबै उम्मेदवारको छ तर यतिबेला चुनावी अङ्क गणितमा विकासका मुद्दाभन्दा पनि दलहरू जसरी हुन्छ मतदाता अकर्षित गर्ने ध्यानतिर केन्द्रित छन् ।

काँग्रेसको किल्ला भनिँदै आएको विराटनगरको चुनावी परिणाम भने सधैँ मिश्रित रहँदै आएको छ । महानगरपालिका भएपछि विराटनगरमा थपिएका करिब २० हजार मतदाताले यस पटकको निर्वाचनमा ठूलो प्रभाव राख्ने आङ्कलन गरिएको छ ।

अघिल्लो निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने यहाँ २३ हजार काँग्रेसको मत रहेको छ । नेकपा (एमाले)को १७ हजार मत रहेको छ । ०७४ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रह्लादप्रसाद साहले प्राप्त गरेको पाँच हजार पाँच सय मतको विशेष महŒव देखिन्छ । यस पटक प्रमुख पदमा स्वतन्त्र उमेदवार रहेका उमेश यादवले अघिल्लो पटक तत्कालीन सङ्घीय समाजवादी फोरमबाट प्राप्त गरेको १४ हजार ९५८ मतको पनि यो निर्वाचनमा जोडघटाउ हुने नै छ ।