• १२ साउन २०८१, शनिबार

तिहारलक्षित सयपत्री फूल रोपिँदै

blog

तिहारलक्षित सयपत्री फूल रोपिँदै ।

निशा राई  

धरान, साउन १२ गते । नेपालमा दसैँ, तिहारदेखि प्रेम दिवसलगायत विभिन्न चाडमा फूलको भरथेग गर्न धरानमा श्रमदान गरी सयपत्री फुल रोप्न थालिएको छ । 

तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मीपूजाको दिन घरलाई सजाउन र भाइटिकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन छ । गत सालबाट धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राईले सयपत्री फूल धरानको डाँडाकाँडामा रोप्ने अभियान सुरु गर्नुभएको थियो । 

भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको व्यवसायीको भनाइ छ । गत वर्ष स्थानीय उत्पादन बढेकाले स्थानीय फूलहरू  सस्तोमा बिक्री भएको थियो । यस वर्ष पनि फूलमा आत्मनिर्भर बन्नलाई सयपत्री फुल रोप्न धरानको निशाने डाँडामा श्रमदानबाट सयपत्री फूलहरू रोपिएको नगर प्रमुख राईले बताउनुभयो । 

श्रमदानमा सयपत्री फूल बाहेक विभिन्न जातका फलफूल तथा बोटबिरुवा गरी करिब ३ सयको हाराहारीमा बिरुवा रोपिएको श्रमदाता दिनेश राईले बताउनुभयो । नगर प्रमुख राई निर्वाचित भएसँगै श्रमदानको पुनः सुरुवात भएको उहाँले बताउनुभयो ।