• ७ मंसिर २०८१, शुक्रबार

कुुलुङ संस्कार र अल्लो

blog

एक हजार दुई सय मिटरदेखि तीन हजार मिटरको उचाइमा पाइने अल्लो अर्थात् ‘भाङ्ग्रे सिस्नो’ लाई अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ भनिन्छ भने कुलुङ जातिले चाहिँ आफ्नो मातृभाषामा ‘जा–खिल्ल/जाखिल्मा’ भन्ने गर्छन् । यहाँ जबरजस्ती गरेरै कुलुङ जातिले चाहिँ आफ्नो मातृभाषामा अल्लो अर्थात् ‘भाङ्ग्रे सिस्नो’ लाई ‘जाखिल्ल/जाखिल्मा’ भन्ने गर्छन् भनी लेख्नुपर्ने विशेष कारण रहेको छ । जुन यो लेखमा प्रस्तुत गरिने नै छ । 

हुन पनि अल्लो अर्थात् ‘भाङ्ग्रे सिस्नो’ लाई नेपालका जातजातिपिच्छे फरक नाम दिएको हुन सक्छ । जे भए पनि बजारमा आजभोलि भाङ्ग्रे सिस्नोभन्दा पनि ‘अल्लो’ नामले नै पहिचान बनाएको छ वा भनौँ हालको प्रचलित भाषामा अल्लो नामले नै चिनिने गरिएको छ, ‘भाङ्ग्रे सिस्नो’ लाई । अहिलेसम्म नेपालको मेचीदेखि महाकालीसम्मका पहाडी क्षेत्रका ३५ भन्दा बढी हिमाली तथा पहाडी जिल्लामा अल्लो पाइने गरेको छ । अहिले नेपालमा उत्पादन भएका अल्लोजन्य सरसमानमध्ये ७० देखि ७५ प्रतिशतसम्म सरसामान विदेश निर्यात गरिन्छ । यो तथ्याङ्क लगभग एक दशकअघि ८० देखि ८५ प्रतिशतसम्म विदेशमा निर्यात हुने गरेको थियो । मुख्यतया युरोप र उत्तर अमेरिका महादेशमा बढी निर्यात भइरहेको छ । 

त्यसो त नेपालमा रहेका अल्लोजन्य उत्पादनसँग सम्बन्धित विभिन्न ससाना घरेलु उद्योग र सङ्घ संस्थामध्ये एक ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’ (एचएनएफएफ) नेपालका अर्थ तथा कार्यक्रम निर्देशक भलाकाजी ङोपोचो कुलुङका अनुसार यसरी विदेश निर्यात गरिने देशमा बेलायत, जापान, जर्मनी, अमेरिका, अस्ट्रिया, फ्रान्स, बेल्जियम, क्यानडा, इटाली, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरिया आदि रहेका छन् । उहाँका अनुसार यसरी विदेश निर्यात हुने अल्लोजन्य सरसमानमा बढी जसो लत्ताकपडा हुने गरेको छ । हुन पनि नेपाल हस्तकला महासङ्घको केही दिनअघिको हस्तकला निर्यात रेकर्ड अनुसार आर्थिक वर्ष २०६४/६५ मा ४८ लाख ४१ हजार १५३ रुपियाँ बराबरको अल्लोजन्य सरसमान विदेश निर्यात भएको थियो भने आव २०६५/६६ मा ४७ लाख ३९ हजार ६६८ रुपियाँ बराबरको अल्लोजन्य सरसामान निर्यात भएको देखिन्छ ।

वास्तवमा भन्ने हो भने अल्लो मात्रै भन्नाले सामान्यतया जङ्गली र ठुलो सिस्नोको बोट भन्ने बुझिन्छ तर पनि हाल आएर अल्लोको रेसा अथवा बोक्रा वा रेसाजन्य वस्तुलाई प्रशोधन तथा उत्पादन गरेर तयार पारिएको सरसमानलाई पनि आमरूपमा अल्लो वा अल्लोको उत्पादन भनेर बुझ्ने गरिन्छ । यसरी हेर्दा अल्लोको प्रमुख स्रोत अर्थात् म्याटेरियल भनेको ‘भाङ्ग्रे सिस्नो’ को बोटबाट छाला ताछेर वा भनौँ उप्काएर निकालिएको रेसा वा बोक्रा हो । यसरी ‘भाङ्ग्रे सिस्नो’ को बोटबाट छाला ताछेर वा भनौँ उप्काएर निकाल्ने कामका लागि नेपालमा हाल ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’ र ‘नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ’ लगायत दर्जनौँ संस्था संस्थागत ढङ्गले नै संलग्न रहेका छन् । मुख्य गरेर ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’ ले अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवर्धनमा महìवपूर्ण भूमिका खेल्दै आएको छ । यसरी नै अल्लो र अल्लोको रेसाजन्य सामग्री उत्पादन तथा प्रवर्धनमा मेडेप नामक गैरसरकारी संस्थाले पनि लामो समयदेखि आफ्नै ढङ्गले प्रयत्न गरिरहेको छ । अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यव्रmम आदिसँंग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यव्रmम सञ्चालन गरिएका छन् । साना तथा घरेलु उद्योग र तत्काली जर्मन सरकार मातहत रहेको जर्मन सहयोग संस्था (जिटिजेड) को सहकार्यमा रुकुम र रोल्पामा पनि धेरैअघि नै अल्लो प्रवर्धनका लागि छलफल र तालिम आयोजना गरिसकिएको हिमालयन नेचुरल फाइबर फाउन्डेसनका पूर्वकार्यकारी निर्देशक इन्द्र होनित्ति कुलुङ बताउनुहुन्छ । कुलुङका अनुसार अल्लोकोे रेसाबाट उत्पादित धागो तथा कपडाबाट विभिन्न सामाग्री उत्पादन तथा सप्लाई गर्ने संस्थामध्ये एक ‘निनाम रिदुम जैविक हस्तकला’ प्रमुख हो । यसबाहेक ‘होमनेट नेपाल’ ले पनि अल्लोको रेसाबाट उत्पादित कपडाबाट हस्तकला उत्पादन गर्ने र बेच्ने कार्य गर्दछ । यसरी अल्लोको रेसाबाट बनेको सामग्री बिव्रmीवितरण गर्ने अन्य सङ्घ संस्थामा महागुठी, साना हस्तकला सङ्घ, हस्तकला उत्पादक सङ्घ आदि पनि रहेका छन् । 

कुलुङ जाति र अल्लोको सम्बन्ध

समग्र विश्वका आदिवासी जनजातिको जीवनशैली प्रकृतिमा आधारित रहेको हुन्छ । अर्थात् आदिवासी जनजातिको अन्योन्याश्रित सम्बन्ध वन, जङ्गल, खोलानाला, हिमाल, पहाड, पाखापखेरा, ओढार, रुखबिरुवा आदिसँग अन्योन्याश्रित ढङ्गले सम्बन्ध जोडिएको हुन्छ । कुनै जातिको केसँग, कुनै जातिको केसँग । जस्तै चेपाङ जातिको सम्बन्ध चिउरीसँग अन्योन्याश्रित ढङ्गले जोडिएको हुन्छ भने माझी जातिको खोलासँग अन्योन्याश्रित ढङ्गले सम्बन्ध जोडिएको हुन्छ । नेपालका अन्य आदिवासी जनजातिको पनि त्यस्तै गरी प्रकृतिका अनेक थरीसँग सम्बन्ध जोडिएको हुन्छ नै । त्यस्तै नेपालका प्राचीन जाति किराँतभित्रका कुलुङ जाति पनि परापूर्वकालदेख नै पूर्ण रूपले प्रकृतिसंँग खेल्दै÷हुर्कंदै आएको एक जाति हो । 

हो, ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ भनिने अनि अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ भनिने ‘अल्लो’ लाई कुलुङ समुदायले आफ्नो मातृभाषामा ‘जाखि–जाखिल्मा’ भन्ने गर्छन् । यसरी हेर्दाखेरि अल्लोसँग कुुलुङको सम्बन्ध आफ्नो उत्पत्ति कालदेखि नै घनिष्ठ र विशेष रहेको देखिन्छ । किनभने कुलुङ जातिमा चलिआएको लोककथा (मिथक) मा मानव सृष्टि भएसँगै लोस र खेउ (दिदीबहिनी) ले ‘भाङ्ग्रे सिस्नो’ वा ‘हिमालयन जायन्ट नेटल’ अथवा ‘जाखि–जाखिल्मा’ अर्थात् ‘अल्लो’ को बोक्रा (छाला) ताछेर धागो कातेर तान लगाएर बुनेर लुगा तयार पारेका थिए । यसरी कुलुङ जातिमा ‘लोस’ र ‘खेउ’ को पालादेखि लुगा लगाउन सुरु भएको मान्यता रहेको छ भने कुलुङ जातिको हरेक कार्य (शुभअशुभ) मा अल्लो अर्थात् जाखिल्माको महìव रहेको छ । किनभने कुलुुङ जातिमा मानिस जन्मेदेखि मृत्युसम्मको संस्कारमा अल्लो अर्थात् ‘जाखि–जाखिल्मा’ नभई हुँदैन । जस्तै कुलुङ जातिमा बच्चा जन्मेर नाइटो काटेपछि अल्लोको धागोले बांँध्ने, अल्लोकै कपडाले बच्चालाई बेर्ने, त्यस्तै अल्लोकै कन्धनी लगाइदिने, अल्लोकै कपडा वा धागोको धूप बाल्ने चलन रहेको छ । साथै कुलुङ जातिको धर्मकर्म, चाडपर्व, संस्कार, संस्कृति, पूजाअर्चनामा पनि अल्लोको धागो र अल्लोको कपडा प्रयोग नगरी शुद्ध भएको मानिँदैन । जस्तो कि कुलुङमा ठुलो पूजा भनेको ‘देदाम’ हो । यो पूजा (देदाम) गर्दा पूजा गर्ने/हुने घरका सबै मानिसले अल्लोबाट बनेको ‘दख्खु/दोख्खु’ नामक कपडा अनिवार्य रूपमा ओढ्नै पर्छ । त्यस्तै मोबो गर्दा (पूजाथान छोप्ने कपडा) पनि अल्लोबाट बुनेकै कपडा प्रयोग गर्नुपर्ने हुन्छ । यसरी हेर्दा अल्लो र कुलुङ जातिको सम्बन्ध अन्योन्याश्रित र अति नै नजिक रहेको देखिन्छ ।

हुन पनि सोलुखुम्बु, भोजुपर र सङ्खुवासभा जिल्लाका कुलुङ सन् १९९० सम्म पनि अल्लोको कपडामै निर्भर रहेका थिए भने अझै पनि यी जिल्लाका कतिपय गाउँघरमा ‘जाखि–जाखिल्मा’ बाट बुनेकै कपडा लगाइने गरिन्छ । मुख्य गरेर हाल पनि अल्लोको धागोबाट बुनेको फेङ्गा (ओन्चे), पगरी (तोङ्रिम्मा), गलबन्दी (पैरिम्) सुरुवाल, पटुका (थाप्री) धोती (वोम्रो), कन्धनी (बुन्छारी) आदि कुलुङ जातिका पुरुषले लगाउने गरेका छन् भने उलुम्मा, लो, लालाचार (लुक्सपा), ओन्चे (फेङ्गा), तोङरिम्मा (टाउकोमा लगाउने), हेम्बारी (छात्तीमा बांँध्ने–जाडोमा, नानी बोक्ने आदिका लागि), ताकिपेम (केश बाँंध्ने) आदि कुलुङ जातिका महिलाले लगाउने गर्छन् । साथै कुलुङ समुदायको धर्म, चाडपर्व, संस्कार, संस्कृति आदिमा पनि अल्लो अर्थात् जखिल्माको महìव रहेको छ । किनभने कुलुुङ जातिमा मानिस जन्मेदेखि मृत्युसम्मको कुनै पनि संस्कारमा यो अल्लो अर्थात् ‘जाखि–जाखिल्मा’ नभई हुँदैन । जस्तै कुलुङ जातिमा बच्चा जन्मेर नाइटो काटेपछि अल्लोको धागोले बांँध्ने, अल्लोकै कपडाले बच्चालाई बेर्ने, त्यस्तै अल्लोकै कन्धनी लगाइदिने, अल्लोकै कपडा वा धागोको धूप बाल्ने, अल्लोकै थाङ्नामा सुताउने गरिन्छ । त्यस्तै कुलुङ जातिको मृत्यु संस्कारमा पनि अल्लोको धागो र अल्लोको कपडा अनिवार्य  चाहिन्छ । पूजाअर्चना र शुभकार्यमा पनि अल्लोको धागो र अल्लोको कपडा प्रयोग नभई  हुँदैन । जस्तै कुलुङ जातिले ‘देदाम’ भन्ने ठुलो पूजा गर्दा अल्लोबाट बनेको ‘दख्खु÷दोख्खु’ नामक कपडाको प्रयोग गरिन्छ भने मोबो गर्दा (पूजाथान छोप्ने कपडा) पनि अल्लोबाट बुनेकै कपडा प्रयोग गरिन्छ ।