• १२ साउन २०८१, शनिबार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृत्ति

blog

कैलाली, साउन १२ गते । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन । पशुचौपाया दुध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ । 

पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशुचौपायाको स्याहारसुसार गर्ने र काम नलाग्ने भएपछि जथाभाबी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताउनुभयो । “काम नलाग्ने भएपछि छाडा छाड्ने गाईगोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ । धनगढीको छ लेन सडकमा दैनिकजसो एक/दुई गाईगोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन् । हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो । 

केही वर्ष पहिले यहाँका स्थानीयले घरघरमा दूधका लागि गाई पाल्ने गर्थे । गाईबाट जन्मिएका गोरुलाई खेत जोन्नका लागि प्रयोगमा ल्याउथे । कृषिको आधुनिकीकरणसँगै आएका कृषि औजारका कारण गोरुको प्रयोग गरेर खेती गर्ने कार्य विस्थापित हुँदै गएको छ । घरमा गाई पालेर दूध खाने चलन पनि विस्तारै हराउँदैछ । पाल्नेहरूले पनि दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृति छ । 

स्थानीय अगुवा शेरबहादुर विष्टले पशुचौपाया छाड्ने प्रवृति कायमै रहेकाले यसबाट किसान सबैभन्दा बढी मारमा परेको उहाँले बताउनुभयो । छाडा पशुचौपायाका कारण किसानलाई खेतमा लगाएको खाद्यान्न बाली जोगाउनै समस्या भएको विष्टको गुनासो छ । 

कृषक दुर्गा जोसीले छाडा चौपायाबाट अन्नबाली जोगाउँनै मुस्किल भएको दुःखेसो पोख्नुभयो । “अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु । थुप्रै पैसा खर्च गरेर धान रोपेको थिए । केही जमिनमा तरकारी लगाएको छु तर रातको समयमा पशु आएर खाइदिनाले जोगाउन निकै सकस भएको छ”, उहाँले भन्नुभयो ।

छाडा पशुचौपाया दिनभर बजार क्षेत्रमा डुल्ने र रात परेपछि खेतबारीमा आएर बालीनाली नोक्सान गर्ने गरेका छन् । किसानलाई मात्रै होइन स्थानीय तहलाई पनि यसरी छाडेका पशुचौपाया व्यवस्थापनमा समस्या भएको छ । धनगढी उपमहानगरपालिकाद्वारा छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरिएको छ । धनगढी–३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला सञ्चालनमा छ । धनगढीको फुलबारी र बेहडाबाबामा पनि गौशाला सञ्चालनमा ल्याइएका छन् भने कतिपय स्थानहरूमा ‘काञ्जी हाउस’समेत निर्माण गरिएका छन् ।  तर धनगढीसँग जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण विभिन्न स्थानबाट चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको छ । गौ संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले धनगढीका साथै खुला सीमानाका कारण अन्य क्षेत्रबाट चौपाया भित्रिने गरेकाले व्यवस्थापनमा चुनौती रहेको बताउनुहुन्छ । “यहाँका विभिन्न ठाउँमा गौशाला र काञ्जी हाउस बनाइएका छन् तर पनि बजारमा समस्या कायमै छ । छाडा चौपायाको व्यवस्थापनका लागि स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन”, उहाँले भन्नुभयो । 

त्यसैले यहाँ छाडा पशुचौपायाको व्यवस्थापन गर्न स्थानीय तह मात्रै नभई प्रदेश र सङ्घीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने अवस्थीलगायत स्थानीय सरोकारवालाको भनाइ छ ।