राज्यको विभिन्न तहतप्का जिम्मेवारी तथा भूमिकामा रही सार्वजनिक सेवा प्रवाह गर्ने प्रशासनिक तथा प्राविधिक कर्मचारी बृहत् सोचमा राष्ट्रसेवक हुन् । राष्ट्रसेवक कर्मचारी एक यस्तो संरचनाभित्र स्थायी रूपमा आबद्ध रही कार्य गरिरहन्छन् जसले राज्यमा दीर्घकालीन सेवा प्रदान गरिरहेका हुन्छन् । सरकारी तथा गैरसरकारी जुनसुकै संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राज्यकै उद्देश्य हासिल गर्न लागिपर्ने हुनाले राष्ट्रसेवक कर्मचारीको परिभाषा पहिलेको भन्दा फराकिलो हुँदै गएको छ । निजामती सेवामा सेवारत राज्यको ढुकुटीबाट तलबभत्ता खाने कर्मचारीलाई मात्र राष्ट्रसेवक कर्मचारी भनी बुझिए तापनि अब निजी तथा सरकारी सबै सङ्घसंस्थामा काम गर्ने कर्मचारीलाई पनि राष्ट्रसेवकको परिभाषाभित्र अटाउनुपर्दछ ।
आज सरकारी निकायबाट प्रवाह गरिएको सेवामा भन्दा निजी सङ्घसंस्थाबाट प्रवाह गरिएको सेवामा प्रभावकारिता देखिँदै गएको छ । निजी स्तरका निकायबाट प्रवाह गरिएको सेवा तथा वस्तुमा गुणस्तरता तथा छिटोछरितो देखिएको छ । नेपालमा सङ्घीयता कार्यान्वयनपछि सरकारी सेवामा केही प्रभावकारिता तथा दक्षता देखिए तापनि पछिल्लो समयमा जनतामा केही नैराश्य देखिएपछि सरकारी सेवाले केही बाटो बिराएको हो कि भन्ने लागेको छ । सरकारी सेवामा ढिलासुस्ती राजनीतिक भनसुनबाट काम गरिने सानोतिनो काममा पनि झुलाएर दुःख दिने जस्ता प्रवृत्तिले गर्दा सरकारी सेवाले राम्रो जस पाउन सकेको छैन ।
सरकारी निकायबाट सम्पादन गरिएका सार्वजनिक सेवामा कैफियत देखिनुमा कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता तथा अनुशासनमा देखिएको मलिनताले गर्दा नै हो । कर्मचारीको अनुशासन नैतिकता, इमानदारी तथा सदाचार हराउँदै गएको छ । कार्यसम्पादन गर्दा पालना गर्नुपर्ने कार्यविधि, निर्देशिका, मार्गदर्शन, निष्पक्षता तथा जनमैत्रीको पाठ एकातिर थन्क्याएर कर्मचारीले आफूखुसी काम गर्ने गरेको देखिन्छ । न त माथिबाट जारी गरिएको निर्देशनको पालना गर्छन् न त आफ्नो सामान्य नैतिक सिद्धान्तमा रही काम नै गर्ने गर्छन् ।
आचारसंहिता राष्ट्रसेवक कर्मचारीको सुन्दर आभूषण हो । सरकारी तथा गैरसरकारी सबैजसो सङ्घसंस्थाले कर्मचारीलाई अनुशासनमा राख्न कर्मचारी सेवासर्तसम्बन्धी कानुन बनाएका हुन्छन् । त्यस्ता कानुनमा कर्मचारीले पालना गर्नुपर्ने आचरणसमेत स्पष्ट रूपमा व्यवस्था गरिएका हुन्छन् । त्यस्ता आचरण कर्मचारीले परीक्षा उत्तीर्ण गर्न कण्ठ मात्र गर्छन् । पछि सेवामा प्रवेश गरेपछि सबै बिर्संदै जान्छन् । कर्मचारीबीच एक–अर्कामा नकारात्मक टिप्पणी नगर्न, सरकारी स्रोत साधनको दुरुपयोग नगर्न, कार्यालय चिह्न, छाप तथा सूचनाको संरक्षण गर्न, मितव्ययी व्यवहार गर्न, पास्नी विवाह, व्रतबन्ध चौरासी पूजा तथा आफ्नो जातीय प्रचलनअनुसारका संस्कार सम्पन्न गर्दा, गराउँदा भड्किलो खर्च नगर्न अनुचित प्रलोभनमा नपर्न, सेवाग्राहीसँग रही उसैको प्रायोजनमा खाने बस्ने तथा आर्थिक लेनदेन नगर्न आचारसंहिताले निर्देशित गरेको हुन्छ ।
यसका साथै कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग नगर्न, गोप्य सूचना सामाजिक सञ्जालमा नराख्न, राजनीतिक दलको कार्यक्रममा सार्वजनिक सम्पत्ति र सवारीसाधन प्रयोग नगर्न, कार्यालयको परिचयपत्र तथा पोसाक लगाई काम गर्न आदि जस्ता कुरा साधारणतया सबैजसो कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता हुन् । कर्मचारीले आफू कार्यरत संस्थाभित्र मात्र होइन बाह्य सेवाग्राहीसँग समेत राम्रो आचरण प्रस्तुत गर्नुपर्दछ । कार्यालयमा आएका सबै सेवाग्राहीको काम छिटोछरितो तथा स्वस्फूर्त भएर सम्पन्न गरिदिनुपर्दछ । कसैको भड्काउमा नलागी निष्पक्ष भएर सबैको गुनासो सुनेर समस्या समाधान गर्नुपर्दछ । चिनेजानेको, भनसुन, मोलाहिजा तथा राजनीतिक आडमा कार्यसम्पादन गर्दा सरकारको विश्वास घट्दै जान्छ । जनताबाट असुल भएको करबाट तलबभत्ता खाएर राज्यको सेवा गर्ने हुनाले कर्मचारीले पदीय मर्यादामा बसेर सेवाग्राहीको सेवामा मन लगाउनुपर्दछ ।
समाजमा घुलमिल गर्दा वा कार्यालय समयभन्दा फरक समयमा जनसम्पर्क हुँदा सामाजिक वस्तुस्थिति बुझेर सकारात्मक विचार राख्नुपर्दछ । समाजले कर्मचारीलाई एक अभिन्न अङ्गका रूपमा स्विकारेको हुन्छ । कर्मचारीबाट समाजले धरै आशा राखेको हुन्छ । यसैगरी समाजमा कर्मचारीको ठूलो मान, प्रतिष्ठा रहेको हुन्छ । समाजका व्यक्ति कार्यालयमा सेवा लिन आउने भएकाले कर्मचारीले उच्च नैतिकता देखाउनुपर्छ । समाजमा घुलमिल हुँदा आफू सेवारत रहेको पदीय हैसियत तथा सेवापश्चात्को आफ्नो सामाजिक मर्यादालाई सधैँ स्मरण गर्नुपर्दछ । राष्ट्रसेवक कर्मचारीले पदीय जिम्मेवारीको पालना गर्दा सदैव राष्ट्र र जनताको बृहत्तर हित र कल्याणलाई ख्याल गर्नुपर्छ ।
पद तथा सेवालाई मर्यादित बनाउन सदैव सकारात्मक भूमिका निर्वाह गर्नुपर्दछ । सामाजिक स्रोत साधनको दुरुपयोग गरी आफ्नो गरिमामा आँच ल्याउने काम कहिल्यै गनुहुँदैन । अवकाश प्राप्त कर्मचारीले पनि आफूले सेवा गरेको संस्थाको मान, मर्यादा, गरिमा र प्रतिष्ठाको संरक्षण गर्नुपर्दछ । यति भन्दाभन्दै पनि राष्ट्रसेवकको अनुशासन तथा इमानदारीमा प्रश्न चिह्न खडा हुँदै गएको अनुभूति नभएकोचाहिँ होइन । चुलिँदै गएको भ्रष्टाचार, अनुशासनहीनताको कमी, सेवाग्राहीसँग मोलाहिजा गर्ने, काम अड्काउने, कमजोर निर्णय, राजनीतिक दबाबमा काम गर्ने जस्ता प्रवृत्ति हेर्दा राष्ट्रसेवक कर्मचारीको गरिमामा केही कमी आएको देखिन्छ ।
राष्ट्रसेवक कर्मचारीको समूह भनेको राज्यको स्थायी संरचना हो । त्यही भएर पनि सेवाग्राहीले कर्मचारीबाट बढीभन्दा बढी स्वच्छ तथा निष्पक्ष सेवाको आशा, भरोसा राखेका हुन्छन् । कर्मचारीले कार्यालयभित्रदेखि कार्यालयबाहिर सडक र समुदायसम्म स्वच्छ नैतिकता तथा आचरण देखाउनुपर्दछ । कार्यालयमा आउने व्यक्तिसँग हँसिलो र फरासिलो सहयोगी व्यवहार देखाउनुपर्छ । कार्यालयमा सेवाग्राहीमैत्री वातावरण बनाउनुपर्दछ । कर्मचारीलाई अनुशासन, नैतिकता र पेसागत मर्यादामा राख्न आचारसंहिता बनाएर मात्र पुग्दैन । आफैँ पनि राष्ट्र र सरकारप्रति बफादार भई आफ्नो मर्यादा, मूल्य, मान्यता तथा गरिमामा आँच नआउने गरी काम गर्नुपर्दछ । जनताबाट असुल गरिएको करबाट तलबभत्ता खाएर सार्वजनिक सेवा गर्ने सबै कर्मचारीले आचारसंहितामा रही कार्यसम्पादन गर्नुपर्दछ ।