• १६ पुस २०८१, मङ्गलबार

आयातित साउने सौन्दर्य !

blog

यस्ता कैयौँ साउनमा हरिया वस्तु आयात भइरहन्छन् र स्वदेशी मुद्रा विदेश गइरहन्छ । यी र यस्ता समस्याका जरालाई बुझेर हामी सचेत हुनु जरुरी छ । साज शृङ्गार तथा बाहिरी आवरणले होइन, बौद्धिक हस्तक्षेप, आत्मनिर्भर र स्वाभिमानमा आफ्नो व्यक्तित्व निर्माण गर्नुपर्ने बेला आएको छ । बुझ्ने बेला भएको छ । साउनको सौन्दर्य प्रकृति हरियो हुनुमा छ न कि आयातित उपभोग्य वस्तुमा । 

केही समय पहिले बिहानी यात्रामा जाँदा भर्खरै टुसाएका कटुसका कलिला मुना अहिले हरिया भएछन् । म हिँड्ने ढुङ्गा छापिएका सिँढी लहराले छपक्कै छोपिएछन् । बाटो वरिपरि रुखबिरुवा हरिया र झ्याम्म परेर बाटो नै ढाक्ने भएछन् । खुइला चौर हरियो तन्ना ओछ्याएर सुन्दर देखिएछन् । छिनछिनमा आकार र रङ फेर्दै बादल बर्सन तयार भएर बसेको छ अर्थात् साउन लागेको छ । प्रकृतिले रङ्ग्याएर हरियो बनाएको छ साउनलाई या साउनले रङ्ग्याएर हरियो बनाएको छ प्रकृतिलाई, म दोधारमा छु यतिबेला । जे होस्, साउनलाई सजाउन अर्को कुनै कृत्रिम रङ भरिरहनु आवश्यक छैन, साउनको सौन्दर्य साउन हुनुमै छ, हरियो हुनुमै छ ।

सामाजिक सञ्जाल खोल्छु, समाचारभन्दा पहिले खुल्छन् विज्ञापनका डिजिटल होडिङ बोर्डहरू र भन्छन् साउनका लागि हरिया चुरा, पोते, टीका, सारी, कुर्ती, नङपालिस... यस्तै यस्तै सामानका फेहरिस्त देखाएर युवतीहरू । विज्ञापनमा देखाइएका सामग्रीको लामो सूचीमा कहीँकतै पनि पुरुषले प्रयोग गर्ने सामग्री देखिँदैनन्, देखिन्छन् त केवल महिलाका वस्त्राभूषण तथा शृङ्गारका सामग्री । 

यही बेला एउटा अनलाइनले ‘साउनमा महिलालाई के उपहार दिने ?’ शीर्षकमा लेख प्रकाशन गरेको रहेछ । के रहेछ त लेखभित्र भनेर पढेँ । विभिन्न कम्पनीले साउनका लागि हरियाली गिफ्ट प्याकेज तयार पारेका रहेछन्, जसमा सारी, कुर्ता, मेहन्दी, चुरा, टीका, पोते, क्लिप, नङपालिसलगायत सामग्रीका लामै सूची रहेछ । 

अब कुरा गरौँ हरियो रङको फेसन संस्कृति र पुँजीवादी बजार व्यवस्थाको । साउनमा हरिया वस्त्राभूषण लगाउने परम्परा हिन्दु धर्म संस्कृति या अन्य कुनै धार्मिक आस्थासँग जोडिएको विषय होइन । (हो भने पनि मैले आजसम्म यसबारे पढेको, सुनेकी छैन, यो मेरो अल्पज्ञान पनि हुन सक्छ ।) साउन महिना आराध्यदेव शिव भगवान्को पूजा उपासना गरिने महिना हो तर शिवलाई खुसी बनाउनै भनेर उनकी पत्नी पार्वतीले साउन महिनामा हरिया वस्त्राभूषण पहिरिएको र त्यसबाट शिव भगवान् प्रसन्न भएको बारे पनि मैले कतै कुनै ग्रन्थमा पढेकी छैन । पार्वतीका चित्र तथा मूर्ति कहीँकतै हरिया वस्त्रमा नदेखेकै कारण होला पार्वतीको विम्ब मस्तिष्कमा आउँदा हरियो रङमा सजिएकी पार्वतीको विम्ब कहिल्यै आउँदैन । यस कारण पनि भन्न सकिन्छ साउनसँगै भित्रिएको हरियो रङको फेसन संस्कृति उपभोक्तावादले निम्त्याएको फेसन संस्कृति हो । 

उपभोक्तावादी समाजमा नाफा कमाउने उद्देश्यका लागि मानव शरीरको बढीभन्दा बढी उपयोग गरिन्छ । नवपुँजीवादी युगमा वस्तुको विज्ञापन गरी धेरैभन्दा धेरै वस्तुको बेचबिखन गरिन्छ । बजारमा माग बढी भएको वस्तुको उत्पादन बढाई विज्ञापनकै भरमा वस्तुको बिक्री वितरण गरिन्छ । पुँजीवादी संस्कृतिको अर्थव्यवस्थाले आफ्नो सामग्रीको बिक्री वितरण गर्न महिला शरीरको उपयोग बढी गरेको हुन्छ, जसको जल्दोबल्दो उदाहरण हो साउन महिनामा फैलिएको हरियो वस्त्राभूषण र शृङ्गारका सामग्री । 

अहिले महिलाले लगाउने शिरदेखि पाउसम्मका हरिया लत्ताकपडाले बजार भरिएका छन् । कस्मेटिक पसल हरिया चुरा, टीका, पोते, नङपालिसलगायत सामग्रीले सजिएका छन् । महिलाकै लागि भनेर निर्मित र आयातित यी सामग्रीको उपभोग हामी महिलाले गरिदिनु परेको छ । उपभोक्तावादी बजार व्यवस्थाले महिला शरीरको प्रयोग गरेर आफ्ना सामानको बिक्री वितरण गरिरहेको छ र मुनाफा कमाइरहेको छ । हामी महिला सुन्दर देखिने नाउँमा, धर्म संस्कृतिका नाउँमा खुसी खुसी आफ्नो शरीरमाथिको नियन्त्रण गुमाइरहेका छौँ । पुँजीवादी अर्थव्यवस्थाले नाफा कमाइरहेको छ । यहाँनेर प्रश्न उठ्न सक्छ, ‘मेरो शरीर मेरो अधिकार’ ! ‘मेरो शरीरमा के लगाऊँ, कुन रङको कपडा लगाऊँ या कस्तो शृङ्गार गरौँ त्यो मेरो अधिकारको विषय हो ।’ हो यो व्यक्तिगत स्वतन्त्रताको विषय पक्कै हो तर यो आफैँमा उपभोक्तावादी संस्कृतिसँग जोडिएको विषय पनि हो । उपभोक्तावादी संस्कृतिले महिलालाई आफ्नो शरीरको परिवर्तन गर्न स्वतन्त्र छाडेको हुन्छ । उसले आफ्नो शरीर सुन्दर बनाउन शरीरमा सर्जरी गर्ने, ट्याटु खोप्ने, स्तनको आकार घटाउने, बढाउने, उचाइ बढाउने जस्ता कार्य उपभोक्तावादी संस्कृतिमा हुन्छ । 

उपभोक्तावादले उत्पादित वस्तुको बिक्री वितरणका लागि हरेक उपायको अवलम्बन गर्छ । विज्ञापन गर्छ, लक्षित वर्ग पहिचान गरी उनीहरूको इच्छा अनुरूपका सामग्री उत्पादन र बिस्तार गर्छ । यसले पुरुषका तुलनामा महिला शरीरको बढी उपयोग गर्छ र उत्पादन बिकाउन धर्मसंस्कृतिको सहारा लिन्छ । वस्तुको उत्पादक कम्पनीहरू या उद्योगपतिहरू यस कुरामा सचेत छन् कि पितृसत्तात्मक समाजमा महिला संस्कृतिका संवाहक हुन्; धर्म, संस्कृति, परम्परा र प्रचलनलाई अगाडि बढाउने बागडोर महिलाको हातमा छ । यही विषयलाई मध्यनजर गरेर उनीहरू साउन महिनाको धार्मिक संस्कृतिको अस्त्र फ्याँकेर हाम्रा बजारमा आफ्नो व्यापार बढाइरहेका छन् । दुःखको कुरा त यो छ कि अहिले नेपाली बजारमा भित्रिएका हरिया वस्त्राभूषणमध्ये एउटै पनि नेपाली उत्पादन होइनन्, यी सबै आयातित हुन् । यसरी जान अन्जानमा हामीले ओरालो लागेको देशको अर्थव्यवस्थालाई झन्झन् धराशायी बनाउँदै लगेका छौँ । 

उपभोक्तावादी संस्कृतिले वस्तुको बिक्री वितरण गर्न महिलाकै शरीरको किन बढी उपयोग गर्छ त ? भन्ने कुरा बहसको विषय हुन सक्छ । यसबारेमा माथि नै केही तथ्य आइसकेका छन् । हाम्रो पितृसत्तात्मक समाजको सामाजिकीकरणको व्यवस्थाले महिला र पुरुषको शरीरलाई भिन्न भिन्न तरिकाले सामाजिकीकरण गरेको हुन्छ । छोरीलाई फ्रक, घाँघर, सारी, कुर्ता जस्ता लुगा लगाउन, कपाल राख्न तथा सिँगारपटार गर्न सिकाउँछ भने छोरालाई साहसी र जुझारु बन्न तथा सर्टपाइन्ट लगाउन सिकाउँछ । सामाजिकीकरणको प्रक्रियाले नारी शरीरलाई सुन्दर हुनुपर्ने, सुशील हुनुपर्ने, शृङ्गारले युक्त हुनुपर्ने भनेर सिकाएको छ । यही पितृसत्तात्मक चिन्तनले युक्त सामाजिकीकरणको प्रक्रियाको परिणामस्वरूप महिलाहरू हुर्कँदै जाँदा आफूमा सोही अनुरूपको सौन्दर्यसम्बन्धी अवधारणाको विकास हुँदै जान्छ र उनीहरू बजारका उपभोग्य वस्तुलाई आफ्नो व्यक्तित्वसँग जोडेर हेर्ने गर्छन् । 

प्रसिद्ध पुस्तक ‘द सेकेन्ड सेक्स’ मा सिमोन दि बुभाएर लेख्छिन्, “पितृसत्ताले नारीको सौन्दर्यसम्बन्धी धारणालाई स्त्रीवर्गको आत्मसम्मान र स्वतन्त्र अस्तित्वमाथि अङ्कुश लगाउन प्रयोग गर्छ । नारीको साजशृङ्गार, वस्त्राभूषण पुरुषको इच्छा अनुकूल हुन्छ ।” यसबाट के बुझिन्छ भने एकातिर पितृसत्तात्मक समाज र यसको सामाजिकीकरणको प्रक्रियाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा महिलालाई राम्री देखिनुपर्ने, शृङ्गार गर्नुपर्ने, गहना अलङ्कार पहिरिनुपर्ने दबाब सिर्जना गरेको छ भने अर्कातिर संस्कार र परम्पराको संरक्षकका रूपमा उभ्याएर उसको ‘स्व’माथि नियन्त्रण गरेको छ । 

यी विभिन्न कोणबाट हेर्दा आज आएर महिलाको शरीर उपभोक्तावादको नियन्त्रणमा रहनुमा आजका महिला मात्रै दोषी छैनन् । दोष छोरी मान्छेको हुर्काई र उसको सामाजिकीकरणको प्रक्रियामै छ । जबसम्म पितृसत्तात्मक सामाजिक चिन्तनले महिलाको स्वतन्त्र अस्तित्व स्वीकार गर्दैन, उसको बौद्धिक उपस्थिति र आर्थिक हैसियतलाई पुरुषसमान महत्त्व दिँदैन तबसम्म महिलाका हातहरू आयातित मेहन्दी, चुरा, नङपालिस उपभोग गर्ने वस्तुमा परिणत भइरहन्छ । यस्ता कैयौँ साउनमा हरिया वस्तु आयात भइरहन्छन् र स्वदेशी मुद्रा विदेश गइरहन्छ । यी र यस्ता समस्याका जराहरूलाई बुझेर हामी सचेत हुनु जरुरी छ । साजशृङ्गार तथा बाहिरी आवरणले होइन बौद्धिक हस्तक्षेप, आत्मनिर्भर र स्वाभिमानमा आफ्नो व्यक्तित्व निर्माण गर्नुपर्ने बेला आएको छ र बुझ्ने बेला भएको छ । साउनको सौन्दर्य प्रकृति हरियो हुनुमा छ न कि आयातित उपभोग्य वस्तुमा । 


Author

सावित्रा पाण्डे