• ८ मंसिर २०८१, शनिबार

अनाइखोलामा बास बर्खाभरि त्रास

blog

मार्तडी समाचारदाता

मार्तडी, साउन ४ गते  । टिउकी विकलाई आकाशबाट पानी पर्नेबित्तिकै चिन्ताले पिरोलिरहन्छ । अनाइखोलासँगै जोडिएको उहाँको गाउँमा खोला पस्ने डरले दिनरात जाग्राम बस्नुपर्ने बाध्यता छ । रातको त कुरै नगरौँ, दिनदहाडै खोला गाउँमा पस्ने डरका कारण बेलुका ७ बजेतिर खाना खाएपछि त्यही खोलाको चिन्तामा रात बिताउने गरेको विकले सुनाउनुभयो । 

बर्खायाम सुरु हुनेबित्तिकै गाउँनजिकै भएर बगिरहेको खोला बढ्ने चिन्ताले अनाइगाउँका स्थानीय शोकमग्न छन् । टिउकी विक त्यहाँकी एक प्रतिनिधि पात्र मात्र हुन् । उहाँ जस्तै अन्य घरपरिवारका सदस्यलाई रातदिन जाग्राम बस्नुको अर्को विकल्प रहेन । यो गाउँ बडीमालिका नगरपालिका–९ स्थित अनाइखोला किनारामा अवस्थित छ । 

सो गाउँमा दलित परिवार मात्र बसोबास गर्दै आएका छन् । करिब १३ दलित परिवार रहेकोे अनाइगाउँ खोलामा आउने बाढीको उच्च जोखिममा परेको छ । विगत लामो समयदेखि खोला र माथिबाट आउने पहिरोको उच्च जोखिम मोल्दै आएको सो गाउँका स्थानीय अहिले थप सङ्कटमा छन् । मनसुन सुरु भएयता खोलाको बहाव निकै उच्च छ । जल तथा मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लासहित बाजुरासमेत बाढीपहिरोको उच्च जोखिममा छन् । यतिबेला अनाइखोलाबाट आफूहरू असुरक्षित रहेको स्थानीय गोरख विकले बताउनुभयो । 

उहाँले भन्नुभयो, “रातभरि पानी आउँछ, उता खोलाको गड्याङगुडुङ आवाजले रातभर सुत्न सकिँदैन ।” पानी पर्नेबित्तिकै जाग्राम बस्नुपर्ने र खोला गाउँमा पस्ने हो कि भन्ने त्रासले बत्ती बालेर खोला हेर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

अर्को स्थानमा बस्ने व्यवस्था छैन, यो ठाउँ यस्तै छ, अब हामी कुन ठाउँ गएर बस्ने उहाँले दःुखेसो पोख्नुभयो । “गरिब दुःखीका पीडा सुनिदिने कोही छैनन्,” उहाँले भन्नुभयो, “प्राकृतिक विपत्ले पनि हामी निमुखालाई नै हेप्दो रहेछ ।”  

गोरख विकको जस्तै दुःखेसो अर्का स्थानीय वीरबहादुर विक पोख्नुहुन्छ । “जीवनका हरेक पाइला पाइलामा दुःख भोग्नुपर्ने भगवान्ले लेखेको रहेछ,” विकले भन्नुभयो, “त्यही खोलाको किनारामा बसोबास गरिरहेका छौँ, कुन दिन खोलाको बाढी गाउँ पसेर बस्ती बगाउने हो, अत्तोपत्तो छैन ।” सो बस्तीका अधिकांश बासिन्दा सोही खोलाको बालुवा, गिट्टीलाई आम्दानीको स्रोत बनाएर जीविकोपार्जन गर्दै आएका छन् । बिहान, बेलुका गिट्टी कुटेरै बालबच्चा स्कुल पढाउने र घरखर्च चलाउने गरेको टिउकीले बताउनुभयो । 

“हाम्रो आम्दानीको स्रोत भनेको यही खोलाको गिट्टी, बालुवा हो तर यही खोला कहिले गाउँ पसेर विनाश गर्ने चिन्ताले पिरोलिरहेको छ,” उहाँले भन्नुभयो, “अर्को ठाउँ सर्नलाई जमिन छैन खोलाले बगाउने सम्भावना भएर पनि बसिरहेका छौँ,” उहाँले बताउनुभयो । अनाइगाउँ बाढी र पहिरोबाट सुरक्षित नरहेको नागरिक अगुवा मदन जैसीले बताउनुभयो । उहाँका अनुसार हिउँदे समयमा बस्नलायक भए पनि बर्खामा उच्च जोखिम रहेको बताउनुभयो । बाढीपहिरोको उच्च जोखिममा रहेको सो गाउँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको छ । 

यस सम्बन्धमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने जैसीले बताउनुभयो । प्राकृतिक प्रकोप कति बेला आउँछ, थाहा हुँदैन, जोखिम मोलिरहेकालाई बेलैमा सुरक्षित स्थानमा सार्न राज्यले ध्यान दिनु पर्छ, उहाँले थप्नुभयो । बडीमालिका नगरपालिकाका प्रमुख अम्मर खड्काले त्यहाँको वस्तुस्थितिलाई ध्यानमा राख्दै विकल्प खोज्ने बताउनुभयो । राज्यले खोला, किनारको तटीय स्थानमा नबस्नु भने पनि केही बाध्यता र परिस्थितिले खोलामा नै बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले १२५ वटा बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार बस्ती स्थानान्तरण गर्न थोरै बजेटले नभ्याइने भएकाले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अविरल वर्षा भइरहेको छ, यसले ठुलो जोखिम निम्त्याउन सक्छ । त्यस कारण सम्पूर्ण बाजुरावासीले सुरक्षित हुने प्रयास गर्न जरुरी छ । मुक्तिकोट र अम्कोट बाढीपहिरोको उच्च जोखिममा रहेका क्षेत्र हुन् ।