• ८ पुस २०८१, सोमबार

ढैँचा मलको प्रयोग बढ्दै

blog

ढल्केबर समाचारदाता

ढल्केबर, साउन ३ गते  । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २२ वर्षीय युवा किसान ललित महताले ढैँचा मलको प्रयोग गरेर धान रोप्नु भएको छ । उहाँ रासायनिक मलको विकल्पमा केही वर्षयता हरियो मल भनेर चिनिने ढैँचा मल प्रयोग गरेर धान उत्पादन गर्दै आउनुभएको छ । उहाँले आफ्नो र अँधियामा गरी पाँच बिघा खेतमा गरिएको धान बालीमा ढैँचा मलकै प्रयोग गर्नुभएको छ । 

किसान ललित धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति पूरा गर्ने भएकाले यो मलको प्रयोग गर्दै आएको बताउनुभयो । रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको उहाँको भनाइ छ । कृषि प्राविधिक तह कक्षा ११ सम्म पढ्नुभएका ललितले अध्ययनबाट ढैँचा मलको प्रयोगले माटोको गुणस्तर सुध्रिन्छ भन्ने थाहा भएको बताउनुभयो । 

यस्तै गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका ५५ वर्षीय किसान रामपुकार यादवले विगत चार वर्षदेखि ढैँचा मलको प्रयोग गरेर धान उत्पादन गर्दै आउनुभएको छ । सामुदायिक सुधार केन्द्र धनुषाले जिल्लाको वीरेन्द्र बजारमा सञ्चालन गरेको कृषि तालिमबाट यो मलका बारेमा जानकारी प्राप्त भएपछि त्यसयता अन्न बालीमा यही मलको प्रयोग गर्दै आएको बताउँदै उहाँले यो मलको विशेषताबारे जानकारी गराएपछि यहाँका धेरै किसानले ढैँचा मलको प्रयोग गर्न थालेको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “यो कुनै नयाँ प्रयोग होइन । बाबुबाजेले ढैँचा मलकै प्रयोग गरेर अन्नपात उब्जाउनुहुन्थ्यो । रासायनिक मलको प्रवेश भएपछि यो विधि हराउँदै गएको थियो । अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ ।”

उहाँका अनुसार बिउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचा बोटलाई धान रोप्नुअघि खेत हिल्याउने व्रmममै जोत्नु पर्छ । त्यसको चारदेखि सात दिनमा कुहिएर मल बन्दछ र त्यसपछि धान रोपेमा कुनै प्रकारको मल राख्नु पर्दैन । न्यून खर्चमा तयार हुने ढैँचा मलको प्रयोग गर्न सके रासायनिक मलमाथिको निर्भरता हट्ने र मल खरिदका लागि बाहिरिने रकम पनि जोगिने किसान रामपुकारको भनाइ छ । 

ढैँचा मलको प्रयोग बढाउन जिल्लाका कतिपय स्थानीय तहले निःशुल्क तथा अनुदानमा ढैँचाको बिउ किसानलाई उपलब्ध गराएको छ । मिथिला नगरपालिकाले ७५ प्रतिशत अनुदानमा ११ क्विन्टल ढैँचा मलको बिउ वितरण गरेको छ । रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक खेतीलाई प्रोत्साहन गर्न नगरभित्रका किसानलाई अनुदानमा यो मल वितरण गरिएको कृषि शाखाका प्रमुख सञ्जयकुमार महतोले बताउनुभयो । माटोको उर्वराशक्ति बढाउन रासायनिक मलको विकल्पमा यो मल उत्तम रहेको बताउँदै उहाँले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण पोषणतìव यसबाट पूर्ति हुने उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “माटोको उर्वरा शक्ति बढाउन यो ढैँचा खेतीको अलावा मुगीको खेतीसमेत गर्न सकिन्छ । मुगीको कोसा टिपिसकेपछि बोटलाई खेतमै खनजोत गर्दा त्यसबाट पनि मल बन्छ ।” रासायनिक मलको प्रयोग गरेर कृषि बालीबाट छिटो आम्दानी लिन खोज्ने किसानको बानीका कारण परम्परागत ढैँचा मलको प्रयोग गर्ने किसानको सङ्ख्या कम भएको शाखा प्रमुख महतोको भनाइ छ । 

कृषि प्राविधिक उमेश महतोले विभिन्न तालिमका क्रममा ढैँचा मलको विशेषताबारे जानकारी गराएपछि अहिले यसको प्रयोग गर्ने किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । रासायनिक मलको अधिक प्रयोग हुन थालेपछि यो मल हराएको थियो । किसानले प्राविधिक ज्ञान पाएपछि भने अहिले यसको प्रयोग बढ्दै गएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार खेतीयोग्य जमिनको उवर्राशक्ति कमजोर अवस्थामा पुगेको छ । जथाभाबी रासायनिक मल तथा विषादीको प्रयोग एवं बाली चक्र नअपाउने जस्ता कारणले माटोको अवस्था बिग्रँदै गएको हो । गोबर मल, प्राङ्गारिक मल, ढैँचा मलको प्रयोग बढाउने र कृषि चुन छर्केर खेतको उवर्राशक्ति बढाउन सकिने कृषि प्राविधिक उमेशले बताउनुभयो ।