• १ साउन २०८१, मङ्गलबार

११ दिनपछि कर्णाली करिडोरको खच्चा सडक खण्ड सञ्चालनमा

blog

अबरुद्ध कर्णाली करिडोरको हुम्ला खण्डको खच्चामा सडक सञ्चालनमा । तस्बिर :राजन रावत

राजन रावत
हुम्ला, साउन १ गते ।
कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–५ को खच्चाको सडक ११ दिनपछि सञ्चालनमा आएको छ ।

प्रहरी निरीक्षक नरेन्द्र चन्दले स्काभेटर चार दिन लगाएर पहिरो पन्छाउने कार्य गरेपछि सडक सुचारू भएको जानकारी दिनुभयो । यस स्थानमा सुख्खा पहिरो खस्ने गर्छ ।

तीन सय क्षेत्रमा पहिरो खसेपछि कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट सामान ढुवानी भएका सवारी साधनहरु सडकमै रोकिएका थिए ।

सडक सुचारु भएसँगै खच्चामा रोकिएका ५० भन्दा बढी मालवाहक ट्रक सलीसल्ला हुँदै सर्केगार्ड पुगेका छन् ।

यसैगरी, सर्केगार्ड गाउँपालिका–४ को कालामुडामा गएको पहिरोका कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली करिडोरको सडक पनि बन्द भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

गत शुक्रबार खार्पुनाथ गाउँपालिकाको सुनाखाडादेखि बोक्चे गौडासम्म सात स्थानमा पहिरो गएर सडक अवरुद्ध हुँदै आएको छ । यसको मर्मत कार्य भने हिल्सा सिमकोट सडक आयोजनाले गर्ने तयारी गरी रहेको आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो ।

वर्षाका कारण सिमकोट हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । अहिले सो स्थानमा काठेपुल निर्माण कार्य सुरु भइसकेको छ ।