• १२ साउन २०८१, शनिबार

नेपाल–भारत जोड्ने राजमार्ग अवरुद्ध, खाद्य तथा इन्धन आपूर्तिमा समस्या

blog

अत्तरिया समाचारदाता 

अत्तरिया, असार ३१ गते । भारतको शारदा नदीले पलियास्थित पुलको उत्तरतिरको सडक बगाउँदा यातायात सञ्चालनमा समस्या भएको छ । बाढीले सडक बगाउँदा यातायात सेवाका साथै सर्वसाधारण यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण नेपाल–भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरीफन्टा सीमानाकाबाट आवतजावत बन्द भएको छ ।

 गौरीफन्टा नाका भएर भारतबाट आउने नेपाली टीकापुरको खक्रोला र नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल भित्रिन बाध्य भएका छन् । राजमार्ग अवरुद्ध बने पनि खाद्य तथा इन्धनलगायतका उपभोग्य सामग्री आपूर्तिमा समस्या भएको छ । नेपाल जोड्ने मुख्य राजमार्ग बगाएपछि लामो ताथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली बजारमा परेको छ । गौरीफन्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्नलगायतको मूल्य आकासिएको छ । 

एक सातादेखि खाद्यान्नलगायत पेट्रोलियम पदार्थ ढुवानी हुन सकेको छैन । भारतीय सीमा बजार वनगवाँमा समेत खाद्यान्नलगायत सामानको अभाव देखिएको छ । सो बजारमा नेपालीले दैनिक करोडसम्मको कारोबार गर्दैै आएको वनगवाँका व्यावसायी गुड्डुसिंह गुप्ताले बताउनुभयो । स्थानीय व्यापारीका अनुसार, चिनीको मूल्य बढेर ६० बाट ८० सम्म पुगेको छ अन्य सामानको पनि मूल्य बढेको छ । सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुने गरेको छ । नेपाल आयल निगमले भारतको बन्थरा डिपोबाट इन्धन ल्याउन सकेको छैन । 

नेपाल आयल निगम धनगढी शाखाका प्रमुख हरिदत्त जोशीले गत आइतबारदेखि इन्धनको आपूर्ति बन्द भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडकका कारण ढुवानीमा समस्या भएकाले नेपालगन्जबाट ल्याउँदै छौ । आइतबारको वर्षाले क्षति पुगेको सडक मर्मत हुन सकेको छैन ।” पानीको सतह नघटेका कारण सडक मर्मतमा समस्या भएको भारतीय पक्षले जनाएको छ । “इन्धन आपूर्तिको रुट परिवतर्नका लागि केन्द्रको निर्णय चाहिन्छ । ढुवानी भाडामा फरक पर्छ,” जोशीले भन्नुभयो । 

बन्थरा डिपोबाट इन्धनको आपूर्ति गर्न समस्या भएपछि आयल निगमले नेपालगन्जबाट इन्धन ढुवानी थालेको छ । एक साता बित्दा पनि भारत सरकारले सडक मर्मतमा चासो नदिएको भनाइ भारतीय व्यापारीको छ ।