• १२ साउन २०८१, शनिबार

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

blog

तस्बिर : रासस

धरान (सुनसरी), असार ३० गते । धरानका मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।

इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुढासुब्बाप्रति अगाध आस्था छ । भर्खरै विवाह बन्धनमा बाँधिएका दम्पतीले यहाँ भाकल गरेर भाकल बुझाएमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।” यस मन्दिर परिसरमा रहेको बाँसमा प्रेमिल जोडीले धागो बाँध्ने चलन रहिआएकाले धागो बाँध्न आएको उहाँले बताउनुभयो । 

भाकल पूरा गर्न झापाबाट धरान आउनुभएका अञ्जा कार्की पनि साउनमा बलि दिन नमिल्ने भएकाले असार अन्तिममा भाकल पूरा गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “म वर्षेपिच्छे बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न भाले लिएर आउने गर्छु । मैले भाकल गरेर मागेको कुरा पूरा पनि हुने गरेको छ ।” दश वर्ष अघिसम्म बुढासुब्बा मन्दिरको बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासले बाँसमा नाम लेख्ने चलन थियो ।

बिस्तारै  यहाँका बास मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसयता बाँसको वरिपरि माला बाँध्ने लहर बढेको हो । बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । यहाँ पूजा गर्न मुलुकका अधिकांश ठाउँ र भारतको सिक्किम दार्जिलिङलगायतका स्थान बाट आउने गरेका छन् । भाकल गर्नेहरूले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी वा पोथी नभएमा कुखुराको अण्डा चढाउने परम्परा छ । 

मन्दिर नजिकै फूलमाला बेच्दै आउनुभएका मोहम्मद जमिन अन्यबेला भन्दा असार अन्तिममा भक्तजनको भीड धेरै भएको बताउनुहुन्छ । उहाँले साउन महिनाभरि काटमार गर्न नहुने भएकाले असार अन्तिममा बर्सेनि भिडभाड हुने गरेको बताउनुभयो । असारको अन्तिम शनिबार हिजो र आज सबैभन्दा धेरै भक्तजन आएको बुढासुब्बा मन्दिरका पुजारी डम्बर आलेमगरले बताउनुभयो । शनिबार पाँच हजारभन्दा बढी भक्तजन आएका थिए । 

साउनभर धरान उपमहानगरपालिका-१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकाले धरानका सबै मठमन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने चलन छ । साउन महिनाभरि बोलबम मेला लाग्ने भएकाले भाकल पुरा गर्न र बलि चढाउन साउन अगाडि बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायतका मन्दिरमा भक्तजन आउने गरेका छन् । रासस