• १२ साउन २०८१, शनिबार

बाढीपीडित फर्किए घर

blog

धनगढी समाचारदाता

धनगढी, असार ३० गते । विपत्ग्रस्त भजनी नगरपालिकाका बाढी प्रभावितहरू घर फर्किएका छन् । घर डुबानमा परेकाले विस्थापितहरू फर्किए पनि बस्न सक्ने अवस्था नभएको बताइएको छ । केही दिनदेखि घाम लागेपछि प्रभावित घर फर्किरहेका छन् । 

घरभित्रको हिलो, पानी, फोहोर रहेका कारण सफा गर्दै बस्ने व्यवस्था गरिएको भजनी नगरपालिकाको कार्यालयले जनाएको छ । गत आइतबार आएको बाढीका कारण सो पालिकाका पाँच हजार १४८ घरपरिवार प्रभावित भएका थिए । जसमध्ये ३१० परिवार विस्थापित भएका छन् । 

उनीहरू सुरक्षित भवन, विद्यालय, हुलाकी राजमार्ग र आफन्तका घरमा बसिरहेका जनाइएको छ । विस्थापितहरू घर फर्कने क्रम सुरु भए पनि दिनभरि सरसफाइलगायतका काम गरेर फेरि सुरक्षित ठाउँमा फर्कने गरेको भजनी नगरपालिकाका विपत् स्रोतव्यक्ति विष्णु न्यौपानेले बताउनुभयो । 

कान्द्रा, काँढा, पथरैया, मोहना नदीको बाढीका कारण भजनी नगरपालिकावासीले हरेक वर्ष डुबान समस्या झेल्दै आएका छन् । पछिल्लो बाढीले वडा नम्बर १ का १३ परिवार विस्थापित र ८३ परिवार प्रभावित भएका थिए । यसै गरी वडा नम्बर २ का सात सय परिवार प्रभावित भएका थिए । वडा नम्बर ३ का १२ परिवारले घर छाडेका थिए भने ७६२ परिवार डुबानमा परेका थिए । यस्तै वडा नम्बर ४ का ३५ घरपरिवार विस्थापित र ३८५ परिवार प्रभावित भएका थिए । 

वडा नम्बर ५ मा ५७ परिवार विस्थापित र एक हजार ५५ प्रभावित भएका थिए । यसै गरी वडा नम्बर ६ मा दुई परिवार विस्थापित हुँदा १५२ परिवार प्रभावित भएका थिए । ७ मा २२ परिवार विस्थापित र २९० परिवार प्रभावित भएका थिए । त्यस्तै वडा नम्बर ८ मा सबैभन्दा बढी एक हजार १११ परिवार विस्थापित र एक हजार ११ परिवार प्रभावित भएका नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । वडा नम्बर ९ मा ६० परिवार विस्थापित भएका थिए भने चार सय परिवार डुबानमा परेका जनाइएको छ ।