• १२ साउन २०८१, शनिबार

चितवन दुर्घटनाका बेपत्ताको पहिचान (नामावलीसहित)

blog

वसन्त पराजुली

नारायणगढ, असार २८ गते । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकको १३ ठाउँमा गएको पहिरो हटाएर सडक सञ्चालमा ल्याइएको छ । ठाउँठाउँमा झरेको पहिरो हटाएर केहीबेर अघिदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।

सडकको १३ ठाउँमा लेदो माटोसहितको पहिरो खसे पनि सबैभन्दा बढी जटिल कालिखोला र सिमलतालमा पहिरो गएको थियो । अन्य स्थानको पहिरो बिहानै सफा भए पनि कालीखोलाको पहिरो पन्छाउन समय लागेको हो । पहिरो पन्छाउन स्क्याभेटर १, लोडर ३ र जेसिभी १ लगायतका उपकरणहरु परिचालन गरिएको थियो ।

पहिरो झर्दा दुई वटा यात्रुवाहक सवारीसाधन नदीमा बेपत्ता भएका थिए । यस्तै, पहिरोले भरतपुर महानगरपालिका २९ सिमलतालमा दुई वटा सवारीसाधन बगाएको थियो । अविरल वर्षाका कारण पहिरोले दुई यात्रुवाहक बस बगाउँदा अधिकांश यात्रुहरु बेपत्ता भएका छन् । केही भने पौडिएर बाहिर निस्कन सफल भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पौडिएर निस्किएका तीन जना यात्रु अहिले भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिमालका अनुसार बिहान करिब ३:३० बजे भएको सो घटनामा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स बस र वीरगञ्जबाट काठामाडौं आउँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको बस त्रिशूलीमा खसेको हो । 

अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी उद्धार तथा खोजी कार्य जारी छ ।  

यसैगरी, नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा पहिरोमा खसेको ढुङ्गा लागेर चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६५६६ न.को बसलाई अचानक माथिबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर बसका चालक नवलपरासीका सुनवल न.पा.४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो । 

काठमाडौं गौर बसमा सवार नन्दूसहित ५ जना, अमृतासहित  २ जना, हरिश्चन्द्रसहित  २ जना, शम्भु नवीनसहित ४ जना, राजु पट्टेल, नन्दन दास, प्रिन्स जैसवाल, सिकेन्द्र, वकिल खाँ, ओम, राजकिशोर, शैलेन्द्र, फिरोज राहुमिया, बसधनी राकेश जैसवाल, किशोर कुमार चौधरी चालकसँगै बसका सहचालक र नाम थर नखुलेका एक जना रहेको चलानीका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

यसैगरी, वीरगन्ज काठमाडौं बसमा सवार जाहिर महत्तो, राजेन्द्र केसी, अरविन दुवे, हरिन्द्र पण्डित, प्रमान्द्र, हर्दनारायण राउतसहित तीन जना, सालिन मियासहित २ जना, रैजुल आलमसहित दुई जना, कुलदीपसहित दुई जना, अन्सारीसहित दुई जना भारतीय नागरिक, भारतीय नागरिक सन्तोष ठाकुर, सुरेन्द्र शाहा, आदित मिया, सुनिल, सहनुवाज आलमलगायत नाम नखुलेका सहचालक र प्रकाशसमेत दुई जना छन् ।