• १२ साउन २०८१, शनिबार

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि मोटर वितरण

blog

बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानलाई मोटर वितरण गरिँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २७ गते । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानलाई कुलो र अन्य ठाउँबाट पानी तानेर सिँचाइ गर्ने उद्देश्यले बाँकेको राप्ती सोनारी गाउँपालिकाले २१६ जना किसानलाई अनुदानमा कृषि मोटर वितरण गरेको छ । 

पालिकाभित्रका  किसानहरुलाई उत्पादन बढाउन सहयोग पुर्‍याउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि मोटर वितरण सुरु गरेको हो । राप्तीसोनारी गाउँपालिकाका कृषि शाखाका नायब प्राविधिक सहायक खड्क खत्रीले दिनुभएको जानकारी अनुसार कृषि उत्पादन र गुणस्तर बढाउन राप्तीसोनारी गाउँपालिकाको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार २१६ जना किसानलाई ५० प्रतिशत लागत सहभागितामा आवश्यक मोटर वितरण गर्ने कार्य भइरहेको छ । 

पालिकाको वडा नम्बर २ देखि ९ सम्मका किसानलाई पालिकाको आफ्नै लगानीमा १३० वटा, वडा नम्बर २ को आफ्नै बजेटले ५८ र वडा नम्बर ५ ले २८ वटा गरी २१६ वटा मोटर वितरण गरिने खत्रीले बताउनुभयो । हालसम्म वडा नम्बर २, ३, ४, ५ लगायतका वडामा मोटर वितरणको कार्य पूरा भइसकेको पनि उहाँले बताउनुभयो । 

गाउँपालिकाका उपाध्यक्ष मनीषासिंह थारुले यसअघि वडा नम्बर २ बाट मोटर वितरण कार्यको सुरुवात गर्नुुभएको थियो । कृषि शाखाले सार्वजनिक सूचना जारी गरेर कृषक, कृषक समूह, कृषि सहकारी र कृषि फर्महरूसँग निवेदन माग गरेको थियो । सोही आधारमा मोटर वितरण कार्य शुरु गरिएको जानकारी गाउँपालिकाले जनाएको छ । 

कृषि उत्पादनको लागी उर्वरभूमि मानिने राप्तीसोनारी गाउँपालिकामा मौसमी, बेमौसमी तरकारी खेती र धान, मकै, गहुँ, लगायत रैथाने बाली कोदो खेती ठुलो परिमाणमा हुने गरेको छ । 

वडा नम्बर २ का वडा अध्यक्ष ज्ञानु ओलीले किसानहरुलाई कृषि उत्पादन बढाउन केही हदसम्म सहयोग होस् भन्ने उद्देश्यले कृषि मोटर वितरण गरिएको जनाउनुभयो । उहाँले मोटर पाइसक्नुभएका किसानले अहिले धान रोपाइँकाे समयमा मोटरबाट पानी तानेर रोपाइँलगायतका कामहरु गरिरहेको बताउनुभयो ।