• १२ मंसिर २०८१, बुधबार

झोलुङ्गोमा बिरामी बोक्नुपर्ने बाध्यता

blog

सर्लाही समाचारदाता

सर्लाही, असार २७ गते  । वर्षायाम सुरु भएसँगै सर्लाहीको चुरे भेगका विकट क्षेत्रमा झोलुङ्गोमा बिरामी बोक्नुपर्ने बाध्यता छ । खोलामा बाढी आएर गाडी चल्न छाडेसँगै चुरेका दुर्गम गाउँमा स्थानीय बिरामी पर्दा अस्पतालसम्म पु-याउनका लागि झोलुङ्गोमा बोकेर गाडी चल्ने ठाउँसम्म ल्याउनुपर्ने बाध्यता सुरु भएको हो । झोलुङ्गोमा बोकेर ल्याइने बिरामीलाई गाडी चल्ने ठाउँदेखि भने एम्बुलेन्स र अन्य सवारीमा हालेर पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न अस्पतालमा ल्याउने गरिएको छ । 

सडक नपुगेको जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा बाढी आएर खोलाको बाटो सबै बगाएपछि पैदल हिँड्नसमेत समस्या परेको छ । लालबन्दी बजारदेखि वडा नं. १३ पत्थरकोट छेडासम्म सडक पुगे पनि त्यहाँदेखि लखन्देही खोलाको बगरैबगर भई नारायण खोलासम्म पुग्नुपर्ने बाध्यता छ । 

खोलामा बाढी आएको समयमा गर्भवती तथा अन्य बिरामीलाई झोलुङ्गोमा हालेर पत्थरकोटसम्म ल्याउने गरिएको स्थानीय बासिन्दाले बताएका छन् । पत्थरकोटबाट भने टेप्पु, एम्बुलेन्स तथा अन्य सवारीमा हालेर बजार क्षेत्रको अस्पतालमा ल्याउने गरिएको छ ।

लालबन्दी १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले निरन्तर पानी परेर खोलामा बाढी आइरहँदा नारायण खोलावासीको दैनिकी कष्टकर बनेको बताउनुभयो । “गाडी त परको कुरा अहिले त पैदल हिँडेर आउन पनि गाह्रो छ । बाढीकै कारण मङ्गलबार बजेट पास गर्न आयोजित नगर सभामा हाम्रो चार जना वडा सदस्य आउन सक्नुभएन,” वडाध्यक्ष घिसिङले भन्नुभयो, “सुत्केरी तथा अपरझट बिरामी परेकालाई अस्पताल ल्याउन अप्ठेरो छ ।” 

उहाँले बाढी आएर एउटा पाखाको बस्तीबाट अर्को पाखाको बस्तीमा जानसमेत मुस्किल रहेको बताउनुभयो । नारायण खोलाका स्थानीय बासिन्दा बिरामी पर्दा अहिले पनि झारफुक र धामी झाँक्रीको भर पर्छन् । गम्भीर बिरामी परेका व्यक्ति तथा गर्भवतीलाई मात्रै झोलुङ्गोमा हालेर अस्पताल ल्याउने गरिएको छ । केही दिनदेखि खोलामा निरन्तर बाढी आएका कारण नारायण खोलासम्म ट्याक्टरसमेत चल्न सकेको छैन । 

अरू बेला खोलाको बगरबाट मोटरसाइकल दौडिने गरे पनि बाढी आएकाले स्थानीयवासीसँग भएको मोटरसाइकल घरमै थन्किएको छ । अत्यावश्यक काम परेकाहरू बाढीमै हेलिएर पत्थरकोटसम्म आएर टेम्पो तथा अन्य सवारीमा लालबन्दी बजार झरिरहेका छन् । नारायण खोलाको माथिल्लो भेग अर्थात् सिन्धुलीको सीमा क्षेत्रमा पर्ने डाइनी शिर, मगने शिर, मत्से, कामिटारलगायतका ठाउँबाट पत्थरकोटसम्म पैदल हिँडेर आउनु परे चार घण्टाभन्दा बढी समय लाग्छ । नारायण खोलाको झैँ लालबन्दी नगरपालिकाको वडा नं. १५ मा पर्ने शिर कालिन्जोर, भित्री खोला, ईश्वरपुर नगरपालिकाको शिर फूलजोर, पिपलदमार, लामिदमार, सिस्नेखर्कलगायत क्षेत्रमा पनि खोलाबाट गाडी चल्न छाडेसँगै स्थानीयको दैनिकी कष्टकर बनेको छ ।