• १२ साउन २०८१, शनिबार

गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान

blog

तस्बिर : रासस

जुम्ला, असार २६ गते । यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलो पटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । 

पोखरामा प्याराग्लाडिङ गर्दै आउनुभएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो । “परीक्षण उडान सफल भएको छ”, अध्यक्ष बुढाले भन्नुभयो, “अब दुई जना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ ।” पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ । 

सो गाउँपालिकाका स्थानीयवासी टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलो पटक आकाशमा प्याराग्लाडिङ देख्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ । रासस