• १२ साउन २०८१, शनिबार

अर्घाखाँचीमा ४५ प्रतिशत रोपाइँ

blog

सन्धिखर्क नगरपालिका २ स्थित विर्तीफाँमा रोपाइँ गरिँदै । तस्बिर : राधा नेपाली

राधा नेपाली

सन्धिखर्क, असार २५ गते । अर्घाखाँचीमा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्ये असारसम्म ४५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । जिल्लाको कुल २६ हजार खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत अर्थात् ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 

कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले भन्नुभयो, “जिल्लामा प्रतिहेक्टर ३.६१ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । अर्घाखाँचीमा वार्षिक ८० करोड रुपियाँको धान उत्पादन हुँदै आएको छ ।” विगत तीन दिनदेखि परेको वर्षात्ले धान उत्पादनलाई राम्रो गरेको र जिल्लामा उल्लेखित क्षति नभएको उहाँले बताउनुभयो ।  

नेपालको प्रमुख बालीको रूपमा रहेको धान उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्नेमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जोड दिनुभयो । त्यसका लागि जिल्लामा कृषकलाई अनुदान र खेतीयोग्य जमिनको वर्गीकरण जरुरी रहेको उहाँको भनाइ छ । साथै खेती गर्नेलाई जमिन उपलब्ध गराउने ससवालमा पनि नगरपालिकाले योजना बनाएको श्रेष्ठले जानकारी दिनुभयो । 

अर्घाखाँची जिल्लामा पछिल्लो समय हाइब्रिड जातको धान बढी रोपिने गरिन्छ । स्थानीय जातहरू खुमल चार, पोख्रेली लगायतका धानहरू समेत लगाइँदै आएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो । 

प्रमुख घिमिरेले भन्नुभयो, “जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूल प्रविधि र विकास कृषकसम्म पुर्‍याउनु पर्छ ।” 

यस वर्ष समयमै पानी परेकाले धान उत्पादनमा वृद्धि हुनसक्ने अनुमान गरिएको । तर गाउँहरूमा खेताला नपाउने समस्याले कृषकहरू हैरानीमा छन् । युवाहरू विदेश गएका कारण गाउँमा वृद्ध, बालबालिका र महिलाहरू छन् । रोपाइँका लागि खेतलाको अभाव हुने गरेको घिमिरेले बताउनुभयो ।  

पुरुष खेतलाका लागि दिनको एक हजार रुपियाँ ज्याला दिँदा पनि नपाउने समस्या छ । महिला खेतालाका लागि भने पाँच सय दिने गरिएको छ । समान कामको असमान ज्यालाको अवस्था जिल्लामा विद्यमान छ । ट्याक्टरबाटै धान रोप्ने आधुनिक प्रविधि आएपनि पहाडमा साना खेतहरूमा मान्छेले नै रोप्दै आएका छन् ।

केन्द्रका अनुसार जिल्लामा ६० प्रतिशत गोरुमार्फत परम्परागत रूपमै धान खेती गर्दै आएको छन् । ४० प्रतिशतले भने ट्याक्टर लगायतको आधुनिक प्रविधिबाट धानखेती गर्दै आएका छन् । पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गर्नेहरूको सङ्ख्या वृद्धि भइरहेको तर भौगोलिक अवस्थाका कारणले चाहेर पनि प्रविधिको प्रयोग हुन नसकेको प्रमुख घिमिरेले बताउनुभयो ।