• २० असोज २०८१, आइतबार

ललितकला प्राज्ञ सभा सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २४ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १६ औँ प्राज्ञ सभा आइतबार सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिकोकुमार पाँडेले संयुक्त रूपमा सभाको उद्घाटन गर्नुभएको थियो । कुलपति हार्तम्छालीले प्रतिष्ठानको ऐतिहासिक सांस्कृतिक विरासतलाई जोड्दै नयाँ ढङ्गले प्रतिष्ठान अघि बढ्न आवश्यक भएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिकोकुमार पाँडेले ललितकलालाई समयसापेक्ष अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले विकास भनेको सडक, भवन मात्र नभई कला पनि भएको चर्चा गर्दै जनभावनाभित्रको सपना, आशा र भविष्य कस्तो हुने भन्ने कुराको निर्धारणमा कलाको महìवपूर्ण भूमिका रहने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानलाई कसरी अगाडि बढाउने, के के कामलाई प्राथमिकतामा राखेर यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकिन्छ भनेर नीति र कार्यक्रमका लागि प्राज्ञ सभाको आयोजना गरेको जानकारी दिनुभयो ।

पूर्वउपकुलपति गोपाल चित्रकारले प्राज्ञ सभाले प्रभावकारी कार्यक्रम तय गर्ने विश्वाससाथ शुभकामना दिनुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले ललितकलाका क्षेत्रमा गर्नुपर्ने धेरै काम रहेको र त्यसलाई रणनीतिक, योजनागत तथा नीति निर्माणका तहमा समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय ललितकला सङ्ग्रहालय, कला हब, काठमाडौँ ट्रिएनाले, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गरिने जानकारी दिनुभयो ।