• २० असोज २०८१, आइतबार

सप्तकोसी नदीमा बहाव बढ्यो, चार लाख क्युसेक नजिक

blog

सप्तकोशी नदीमा बढेको पानीको बहाव । तस्बिर: बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, असार २३ गते । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । 

सतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका बिहानदेखि खोलिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदैआएको छ । 

आज रातिबाट पानीको बहाव झन् बढेपछि ब्यारेजका ५६ वटै ढोका आइतबार बिहान ९ बजेदेखि खोलिएको थियो । सप्तकोशी चतरा जल मापन केन्द्रले आज दिउँसो ४ बजे १ लाख ७२ हजार ५ सय क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी योजना आयोग विराटनगरका सम्पर्क भूआर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो । 

आज बिहान १० बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार १५० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो ।

सान २०२० मा ३ लाख ३४ हजार नौसय, सन् २०२१ मा २ लाख ७४ हजार, सन् २०२२ मा २ लाख ४३ हजार, सन् २०२३ अगस्ट १४ मा ४ लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कोशी योजना विराटनगर सम्पर्क तथा भूआर्जन कार्यालयले जनाएको छ । 

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च बन्दैगएको छ । कोसीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा यो समाचार तयार पार्दासम्म कुनै क्षति गरेको छैन । पूर्वी तटबन्धको राजावास, प्रकाशपुर, मधुवनलगायत क्षेत्रमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धनजिक आएको छ ।