• २० असोज २०८१, आइतबार

प्रज्ञा प्रतिष्ठानले अनुसन्धानमूलक कृति प्रकाशन गर्दै

blog

नेपाल प्रज्ञा प्रतिष्ठान । फाइल तस्बिर

काठमाडौँ, असार २३ गते । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानलाई अनुसन्धानमा केन्द्रित गरिने बताउनुभएको छ । प्रतिष्ठानको ४१ औँ प्राज्ञसभामा उहाँले अनुसन्धानमूलक उत्कृष्ट कृतिलाई प्रकाशन गरिने बताउनुभयो । 

“सभाले परम्परा धान्नेभन्दा फरक विषयमा छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय गर्नुपर्छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै बजेटका विषय विस्तृत छलफल गर्नु आवश्यक छ । प्रतिष्ठानलाई नयाँ ढङ्गले निर्देशित गर्ने विषयमा सभामा विशेषरुपमा छलफल गरिन्छ”, कुलपति राईले भन्नुभयो । 

भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले प्रतिष्ठानले विगतका कामको मूल्याङ्कन गरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगले भोजपुरी भाषामा शब्दकोश र व्याकरण बनाउन लागेको भन्दै यसमा प्रतिष्ठानको सहयोग आवश्यक पर्ने बताउनुभयो । वरिष्ठ आख्यानकार डा.ध्रुवचन्द्र गौतमले प्रतिष्ठानले कस्ता पुस्तक छाप्ने भन्ने प्रस्ट व्यवस्था नहुँदा समस्या भइरहेको भन्दै यसको समीक्षा गरेर प्रस्ट व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । 

“कस्ता पुस्तक छाप्ने भन्ने प्रतिष्ठानले स्पष्ट मापदण्ड बनाउनुपर्ने पर्छ । सबै विधाका बौद्धिक पुस्तक प्रतिष्ठानले छाप्नुपर्ने प्रावधान भए सहज हुन्छ”, उहाँले भन्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संस्कृति महाशाखा प्रमुख डा.सुरेशसुरश श्रेष्ठले मुलुकका प्रज्ञाको सभाले आगामी वर्ष गरिने कार्यक्रम छनोट गरी बजेट पारित गर्ने जानकारी दिनुभयो ।  

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुष्मा महराले प्रतिष्ठान सबैको हुनुपर्नेमा जोड दिनुभयो । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारालाई यथार्थ रूपमा कार्यान्वयन गरिनुपर्ने उहाँको भनाइ छ । प्रतिष्ठानका उपकुलपति विमल निभा र सदस्य सचिव डा.धनप्रसाद सुवेदीलगायतले प्राज्ञ सभाले गर्ने निर्णयका बारेमा जानकारी गराउनुभएको थियो । रासस