• २४ असार २०८१, सोमबार

मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव

blog

प्रदेश सभा सदस्य विक्रमसिंह धामी। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार २१ गते। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिएको छ। 

मुख्यमन्त्रीसँग बहुमत नरहेकाले उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने कांग्रेसले जिकिर गरेको हो। नेकपा (एमाले) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। 

सरकारसँग बहुमत नरहेको र सदनबाट पनि विश्वासको मत प्राप्त गर्न सकिने अवस्था नरहेका कारण मुख्यमन्त्रीले चाँडै राजीनामा दिएर सरकार गठनको लागि बाटो खोल्नु नै उपयुक्त हुने कांग्रेसका मुख्य सचेतक विक्रमसिंह धामीको ठहर छ। 

“एमालेले आफ्नो समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्रीसँग बहुमत छैन र सदनबाट पनि विश्वासको मत प्राप्त गर्न सकिने अवस्था छैन”, उहाँले गोरखापत्रसँग भन्नुभयो,“यो अवस्थामा विश्वासको मत लिएर सदनलाई अनिर्णयको बन्दी बनाउने र समय खेर फाल्ने काम मुख्यमन्त्रीले गर्नुहुन्न।”