• २४ असार २०८१, सोमबार

प्याज उत्पादनले उत्साहित इलामका किसान

blog

सन्दकपुर गाउँपालिका– ३ का किसान प्रकाश पराजुलीले बजार पठाउन प्याज तयार गर्दै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, असार २१ गते ।
एक किसानले कति प्याज उत्पादन गर्छन् ? सामान्यतयाः गाउँ घरमा प्रयोग गर्नका लागि मात्र प्याज रोप्ने चलन छ । तर प्याजलाई व्यावसायिक ढङ्गले खेती गर्‍य ाे भने त्यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण इलामका किसानले देखाएका छन् ।

यो वर्ष जिल्लाका धेरै किसानले प्याजको व्यावसायिक खेती गरेका छन् । व्यावसायिक रुपमा प्याज खेती गर्नेहरुले यो वर्ष इलाममा एक मनदेखि ६५ मनसम्म प्याज फलाएका छन् । ६५ मन प्याज उत्पादन गरेर बिक्री पनि गरिसक्नुभएका सन्दकपुर गाउँपालिका – ३ सुलुबुङका किसान प्रकाश पराजुलीले यो वर्षको उत्पादन हेर्दा प्याजमा आत्मनिर्भर बनाउन सकिने रहेछ भन्ने लागेको बताउनुभयो ।

‘‘यो वर्ष ६० मन प्याज प्रतिमन दुई हजार दुई सय रुपियाँ दरले बिक्री गरें । घरमा राखेको र गाउँ–घर, छरछिमेक, आफन्तका तिर कोसेली पठाउन पाँच मन जति राखें ।,’’ पराजुलीले भन्नुभयो, ‘‘नयाँ हाइब्रिड जातको प्याज लगाउँदा त्यसको उत्पादन यो क्षेत्रमा राम्रो हुन्छ भन्ने देखियो ।’’

२०६६ सालदेखि तरकारी खेती गर्दै आउनुभएका पराजुलीले यो वर्ष सन्दकपुर गाउँपालिकाको सहयोगमा आफ्नो ५० प्रतिशत लागतमा पीआइ १७२ जातको दुई सय ग्राम प्याजको बीउ लगाएको बताउनुभयो । दुई सय ग्राम प्याजलाई साढे सात हजार रुपियाँ खर्च भएको पराजुलीको भनाइ छ । प्याजको बीउ रोप्नदेखि उत्पादन अर्थात् टिप्ने र भण्डारण गर्ने समयसम्म ३२ हजार रुपियाँ खर्च भएको उहाँको भनाइ छ । लागत खर्च कटाउँदा पनि पराजुलीले यो वर्ष प्याजबाट ९३ हजार रुपियाँ चोखो आम्दानी भएको पराजुली बताउनुहुन्छ ।

‘‘तीन वर्ष अघि मैले नै लोकल जातको प्याज एक सय मन फलाएको थिएँ । तर भण्डारणको उचित व्यवस्थापन हुन नसक्दा त्यसबेलाको धेरै प्याज कुहिएर नोक्सान भयो । समयमा बजार पठाउन सकिएन ।,’’ पराजुलीले भन्नुभयो, ‘‘ हाइब्रिड जातको प्याजलाई पनि डाँठ नभाँची बढ्न दिँदा ठिकैको दाना उत्पादन हुने रहेछ । बजारको समस्या भएन ।’’

त्यसोत यसवर्ष छरछिमेकमा पनि राम्रैसँग प्याज उत्पादन भएको उहाँले बताउनुभयो । अन्य किसानहरु पनि पाँच सय ग्रामदेखि आठ सय ग्रामसम्मको एकै दाना प्याज फलाएको पाइएको पराजुलीले बताउनुभयो । पराजुलीका छिमेकी विष्णु खनालले पनि यो वर्ष १९ मन प्याज फलाउनुभयो । तातो क्षेत्रमा राम्रो उत्पादन लिन सकिने प्याज धान काटिसकेपछिको बाँझो जमिनमा लगाउँदा उपयुक्त हुने किसानको अनुभव छ ।

उता माइजोगमाईका किसान मोहन सुवेदीले पनि यो वर्ष चार मन प्याज फलाउनुभयो । ७० रुपियाँ प्रतिकिलोका दरले प्याज बिक्री गरेको सुवेदीले बताउनुभयो । ‘‘बाँदरले अन्य खेती र तरकारीहरु समेत नष्ट गरेकाले यो वर्ष प्याज अलि बढी रोपियो, उत्पादन पनि राम्रो भयो ।’’ सुवेदीले भन्नुभयो, ‘‘प्याजमा मेहनत गर्ने हो भने यसको बजार र आम्दानी राम्रै हुने रहेछ भन्ने ठाउँमा हामी पुगेका छौं ।’’

जिल्लामा ११५ हेक्टर जमिन क्षेत्रफलमा प्याज खेती हुने गरेको जिल्ला स्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार गएको वर्ष जिल्लामा एक हजार ८७४ मेट्रिकटन प्याज उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष एक सय मेट्रिकटन बढी प्याज उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले बताउनुभयो ।