• २३ असार २०८१, आइतबार

पाण्डौन सडक निर्माणमा ढिलासुस्ती

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), असार २० गते । घोडाघोडी नगरपालिका–५, डोकेबजार पाण्डौन सडकखण्ड अन्तर्गत शीतलपुर सडक निर्माण कार्य ढिलासुस्ती भएको छ । १४ महिनामा कालोपत्रे गरिसक्नुपर्ने सो सडकको लेबल मिलानका नाममा ठाउँ ठाउँमा माटो थुपारिएको छ । 

सडकबिचमा माटो थुपार्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । ठेकेदारले निर्माण कार्यमा ढिलासुस्ती गरेपछि स्थानीयले हिलाम्मे सडकमा धान रोपेर दबाबसमेत दिएका छन  । सडक हिलाम्मे बनेपछि सो सडक भएर गुड्ने सवारीसाधनसमेत सडकमा जाम हुने, धकेलेर ओहोरदोहोर गराउनुपर्ने बाध्यता रहेको सवारीचालकले गुनासो गरेका छन् । प्रदेश सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०७९÷८० मा १४ महिनामा निर्माण सम्पन्न गर्ने गरेर टेडी निर्माण कम्पनीले सडक निर्माणको जिम्मा पाएको थियो । 

२०८० वैशाखमा सम्झौता भएर २०८१ साउनमा निर्माण सक्ने गरी सुरुको वर्ष ३० लाख रुपियाँ बजेट खर्चिएको र चालु आवमा विनियोजन भएको ५० लाख रकममध्ये ४७ लाख रुपियाँ खर्च भएको जनाइएको छ । प्राविधिक दुर्गा अवस्थीले पाँच करोड रुपियाँ लागतमा दुई हजार सात सय मिटर कालोपत्रे गर्न ठेक्का सम्झौता भएको बताउनुभयो । 

निर्माण कम्पनीले चालु आवमा आठ वटा ह्युमपाइप राख्ने, साइडमा वाल लगाउने र बाटोको लेबल मिलानका लागि माटो पटान गर्ने काम गरेको जानकारी उहाँले दिनुभयो । बर्सात सुरु भएपछि सो सडक कालोपत्रे निर्माणको काम रोकिएको छ ।