• २२ असार २०८१, शनिबार

समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता : नेता केसी

blog

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी

धनुषा, असार १९ गते । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक भएको बताउनुभएको छ । बुधबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।

उहाँले ०७२ सालमा जारी भएको संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको भन्दै सो संविधान असफल भयो भने दुर्भाग्यपूर्ण अवस्था आउने बताउनुभयो । उहाँले दुर्भाग्यपूर्ण स्थिति आउन नदिन संविधान संशोधन गर्ने र निकास दिनेतिर सोच्नुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।

नेता केसीले नेपाली कांग्रेस र नेकपा(एमाले)का बिचमा भएको पछिल्लो सहमतिले देशलाई स्थिर सरकार दिने आशा देखाएको बताउनुभयो । उहाँले आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामूहिक मिसनको रूपमा लिएर जानुपर्ने बताउनुभयो । उहाँले सरकार परिवर्तन केवल मन्त्री बनाउनका लागि मात्रै नभई जनतामा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्नेगरी हुनुपर्ने बताउनुभयो ।

नेता केसीले संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै गर्दा संसद्को प्रतिपक्ष भूमिका कमजोर हुनसक्ने प्रश्न उठ्ने भन्दै प्रतिपक्षी दलहरूले प्रतिपक्षको सशक्त हैसियतलाई जीवन्त राख्न सक्नुपर्ने बताउनुभयो ।