• २२ असार २०८१, शनिबार

युवक हत्यामा संलग्नमाथि कारबाहीको माग

blog

छविलाल पाण्डे
बुटवल, असार १९ गते । 
युवासंघ रुपन्देहीले बुटवलमा चक्कु प्रहारबाट स्थानीय रवि थापाको मृत्यु भएपछि घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य बुटवल–७ निवासी ३६ वर्षीय रविमाथि गत जेठ २ गते बुटवलको एक रेष्टुरेण्टमा चक्कु प्रहार भएको थियो । थापाको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो । 

युवासंघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले रविमाथि गत जेठ २ गते बुधबार साँझ बुटवलकै कालिकानगरमा रहेको एक रेष्टुरेण्टमा कार्यरत रहेको अवस्थामा छुरा प्रहार भएको र उपचारको क्रममा निधन भएको जानकारी दिनुभयो ।

उहाँले गत जेठ २ गते भएको घटनामा संलग्न व्यक्तिको हालसम्म पनि खोजी कार्य नहुनु अत्यन्तै दुःखद विषय रहेको बताउँदै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण गराइएको अध्यक्ष जानकारी दिनुभयो ।

रेष्टुरेण्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको भन्दै युवासंघले तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

उता इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले रवि थापाको हत्याको विषयमा अनुसन्धान अघि बढेको बताउँदै घटनामा संलग्न छिट्टै पक्राउ पर्ने बताउनुभयो ।