• २१ असार २०८१, शुक्रबार

सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ

blog

देउखुरीको राप्ती गाउँपालिकामा धान रोप्दै किसान । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, असार १९ गते । असार महिना आधा बितिसक्दा दाङमा १३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधाको कमीसँगै यस वर्ष ढिला गरेर वर्षा हुँदा रोपाइँमा ढिलाइ भएको हो । 

सिँचाइ सुविधा हुने ठाउँमा रोपाइ सुरु भए पनि जिल्लामा अधिकांश ठाउँमा रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा नभएको र आकाशे पानीको भरमा किसानलाई बर्षे खेती गर्नुपर्ने बाध्यताका कारण यो बर्ष रोपाइ कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

नदी र डिप बोरिङको पानीबाट सिँचाइ हुने क्षेत्रमा धान रोप्ने काम भइरहेको भए पनि अधिकांश ठाउँमा खेत बाँझै रहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार जिल्लामा गतवर्ष असारको आधासम्म जिल्लामा करिव ३० प्रतिशत धान रोपाइँ सकिएको थियो । 

पानी नपर्दा किसानले समयमै बीउ नै राख्न नपाउँदा रोपाइ ढिला हुन गएको कृषि अर्थविज्ञ लामिछाने बताउनुभयो । राप्ती नदीको पानीले सिँचाइ हुने देउखुरी क्षेत्रमा धान रोपाइँ अन्तिम अवस्थामा पुगेको छ । 

पर्गन्ना कुलो सिँचाइ आयोजना, अर्जुनखोला सिँचाइ आयोजना र केही भूमिगत पानीले सिँचाइ हुने क्षेत्रमा धान रोपाइ भए पनि दाङ उपत्यकातिर हुन नसकेको कृषि अर्थविज्ञ लामिछानेले बताउनुभयो । उहाँका अनुसार देउखुरीमा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइँ भएको छ । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी समेत रहनुभएका लामिछानेले भन्नुभयो, ‘यो बर्ष पानी नपर्दा धेरै ठाउँमा खेत बाँझै रहेको छ, तर देउखुरी क्षेत्रमा भने रोपाइ भइरहेको छ ।’ जिल्लामा तरकारी तथा फलफूल खेती गर्ने किसान बढ्नका साथै प्लाटिङका कारण बर्षेनी धान खेती हुने क्षेत्रफल घट्दै गइरहेको ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछाने बताउनुभयो । सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने जिल्लाका धेरै किसानलाई बाध्यता छ । 

जिल्लामा ६५ हजार ९ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये ३७ हजार तीनसय ६५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जिल्लामा ३० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको ज्ञान केन्द्रले जनाएको छ । १९ हजार ६ सय ५१ हेक्टर जमिनमा पूर्णरुपमा सिँचाइ सुविधा पुगेको छ । बाँकी ३९ हजार दुईसय ११ हेक्टर जमिनमा आंशिक सिँचाइको व्यवस्था छ ।